CLI

कोशीमै रोकियो मनसुन, पश्चिम र मध्य भागमा स्थानीय र पश्चिमी वायुको प्रभाव

काठमाडौं । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । मनसुनी वायुको प्रभाव कोशी प्रदेशका अधिकांश भू-भागमा रहेको छ ।

यस वर्षको मनसुन मिति गत जेठ १५ गते बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा विस्तार भएको थियो । जुन कोशी प्रदेशमै रोकिएको छ भने पश्चिमीतर्फ सरेको छैन । जसको फलस्वरुप कोशी प्रदेशका अधिकांश मौसम केन्द्रहरुमा हल्का देखि मध्यम मनसुनी वर्षा भएको अवस्था छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थानहरूमा बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ ।

Leave Your Comment

Related News