काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीहरुले पठाउने विप्रेषण (रेमिटेन्स) आप्रवाह १३ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०८१/८२ को दश महिनामा विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको जनाएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो ।
२०८२ वैशाख महिनामा विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १५ अर्ब ९९ करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४ खर्ब ७९ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब १ अर्ब ७५ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५ हजार ६१० वटा र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ वटा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ७३ हजार ३०७ वटा र २ लाख ३६ हजार ३९८ वटा रहेको थियो ।