काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मुलुकको वैदेशिक व्यापार अन्तर्गत निर्यात व्यापारमा वृद्धि भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनाको प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा कुल वस्तु निर्यात ७२.७ प्रतिशतले वृद्धि भई २ खर्ब १७ अर्ब ९१ करोड पुगेको बताएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.६ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः १०४.७ प्रतिशत, ५.१ प्रतिशत र ४.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, तयारी पोशाक, जुश, अलंैची लगायतका वस्तुको निर्यात घटेको छ ।
त्यस्तै समिक्षा अवधिमा आयात व्यापार समेत बढेको छ । आर्थिक वर्ष २०८१/८२ को दश महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई १४ खर्ब ७४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.४ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.९ प्रतिशत, १५.१ प्रतिशत र २८.३ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल/धान, खाने तेल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युत्तीय उपकरण, रासायनिक मल, कोइला लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ जलेश्वर, कञ्चनपुर र तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात बढेको छ । आयाततर्फ भैरहवा, विराटनगर, वीरगंज, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय लगायतका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को दश महिनामा कुल वस्तु व्यापार घाटा ६.७ प्रतिशतले वृद्धि भई १२ खर्ब ५६ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.३ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १४.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ५२ अर्ब ४८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब २२ अर्ब २ करोड बराबरको भएको थियो ।
वैदेशिक व्यापारको संरचना
वृहत्आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ६६.५ प्रतिशत, ३२.५ प्रतिशत र १.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ४२.८ प्रतिशत, ५६.६ प्रतिशत र ०.५६ प्रतिशत रहेको थियो । ज्ञछ। समीक्षा अवधिमा भएको कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्तीर पुँजीगत वस्तुको अनुपात क्रमशः ३९.३ प्रतिशत, ५१.९ प्रतिशत र ८.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ४१.८ प्रतिशत, ४८.९ प्रतिशत र ९.३ प्रतिशत रहेका थिए ।