RE
Global College

रेमिट्यान्स वृद्धिमा खुशी मात्रै हैन, चिन्ताको संकेत पनिः बैकर ढकाल

काठमाडौं । रेमिट्यान्स वृद्धिमा खुशी मात्रै नभएर चिन्ताको पनि संकेत भएको बैकर्स रविन्द्र ढकालले बताएका छन् । हालै नेपालमा रेमिट्यान्स (विदेशबाट पठाइएको पैसा) को तथ्यांकले नयाँ कीर्तिमान कायम गरेसँगै वित्तीय वृत्तमा उत्साह देखिएको छ। तर प्रभु बैंक प्रभु बैंकका चिफ म्यानेजर तथा वित्तीय विश्लेषक रविन्द्र ढकालले रेमिट्यान्स वृद्धिको पछाडिको कारणप्रति गम्भीर प्रश्न उठाएका छन्।

उनले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘रेमिट्यान्सको आँकडा तोडियो, रेकर्ड बन्यो -यो समाचारले खुसीको लहर त ल्यायो, तर त्यो खुशीमा एउटा गहिरो प्रश्न पनि लुकेको छः किन बढ्यो रेमिट्यान्स?’

उनको भनाइमा रेमिट्यान्स वृद्धि आफैंमा सकारात्मक आर्थिक सूचक भए पनि यदि त्यो देशभित्र रोजगारी, उद्यमशीलता र अवसरको अभावका कारण हो भने चिन्ताको विषय हो। ‘यदि देशमै केही देखिएन, त्यसैले युवाहरू विदेश पलायन हुन बाध्य भए भने त्यो चिन्ताको गहिरो संकेत पनि हो,’ उनले लेखेका छन्।

ढकालका अनुसार रेमिट्यान्सले भुक्तानी सन्तुलन सुधार्न सहयोग गरे पनि त्यो रकम घरजग्गा, ऋण तिर्ने वा उपभोगमै सीमित रहे भने दीर्घकालीन समृद्धिको सपना अधुरै रहनेछ। त्यसका लागि उत्पादनशील क्षेत्रमा लगानी हुने संरचना र सोच आवश्यक रहेको उनको भनाइ छ।

‘देशमा सम्भावना छ, स्रोत छ, श्रम र सीप पनि छ। तर अभाव छ त केवल दृष्टि र निर्णय गर्ने इच्छाशक्ति,’ उनले थप लेखेका छन्।

उनले राजनीतिक प्रणालीदेखि शिक्षा नीति, बैंकिङ प्रणाली र विकास मोडेलमा पुनर्विचार गर्नुपर्ने समय आएको पनि औंल्याएका छन्। यो समय केवल खुसी हुने हैन, गहिरो सोच्ने बेला हो,’ ढकालले लेखेका छन्।

अन्त्यमा, उनले युवाहरू किन विदेश गइरहेछन्, तिनीहरू के खोजिरहेका छन् र देशले कस्तो वातावरण दिन सकिरहेको छ भन्ने प्रश्नहरू उठाउँदै सबै पक्षले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने सन्देश दिएका छन्।

‘रेमिट्यान्स देश चलाउने शक्ति हो, तर त्यो शक्ति देश बनाउने सपना बन्न नसकेको दुःखद यथार्थ पनि हो,’ ढकालको भनाइ छ।

NECO

Leave Your Comment

Related News