बजेटमाथिको सैद्धान्तिक छलफलको समय आधा घट्यो

काठमाडौं । बजेटमाथिको सैद्धान्तिक छलफलको समय आधा घटेको छ । संसदले तय गरेको कार्यसूची अनुसार सरकारले संसद्मा प्रस्तुत गरेको राजश्व तथा व्ययमाथिको अनुमानको सैद्धान्तिक छलफलका लागि दुई दिनको समय दिए सँगै समय घटेको हो ।

सभामुख देवराज घिमिरेले आइतबार र सोमबार मात्रै यस्तो छलफल हुने गरी तोकिएको जानकारी गराएका छन् । यसअघि चार दिनका लागि छलफलको समय निर्धारण गरिएको थियो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गरेपछि बजेट प्रस्तुत भएको १७ दिनसम्म पनि बजेटमाथि छलफल हुन सकेको छैन । प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गरे सँगै संसदको नियमित कामकारबाहीमा वाधा पुगेको हो, जसले गर्दा विनियोजित समय थपघट गर्न परेको हो ।

सैद्धान्तिक छलफल सकिएपछि मन्त्रालयगत छलफल हुनेछ । अहिले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक संसद्मा विचाराधीन अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार