काठमाडौं । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार कोशी प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गरेका हुन्।
बजेटमध्ये चालू खर्चतर्फ १८ अर्ब ६७ करोड ३३ लाख, पुँजीगत खर्चतर्फ १७ अर्ब १० करोड र वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन गरिएको छ।
यो बजेट चालु आर्थिक वर्ष २०८१/८२ को तुलनामा १.१७ प्रतिशतले बढी हो। चालु वर्षका लागि प्रदेश सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो।
मन्त्री मगरका अनुसार बजेटले प्रदेशको समावेशी विकास, पूर्वाधार सुदृढीकरण, रोजगारी सिर्जना र सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ।