काठमाडौं । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सात प्रदेशहरुले २ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् । प्रदेशहरुको बजेट चालु आवको भन्दा ८ अर्ब ५९ करोड रुपैयाँ बढी हो ।
सात प्रदेशमध्ये पाँचले चालु आवमा विनियोजित बजेटको आकार बढाएका छन् भने दुईले भने घटाएका छन् । चालुको तुलनामा आगामी आवका लागि बजेटको आकार घटाउनेमा लुम्बिनी र गण्डकी प्रदेश रहेका छन् ।
आगामी आवका लागि सबैभन्दा धेरै बजेट बागमती प्रदेशले विनियोजन गरेको छ । बागमती प्रदेशले ६७ अर्ब ४७ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । यो चालु आवको तुलनामा २ अर्ब ९२ करोड रुपैयाँले बढी हो ।
आगामी आवको लागि कोशी प्रदेशले ३८ अर्ब ८७ करोड १९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । यो चालु आवको भन्दा ६१ करोड रुपैयाँ बढी हो ।
मधेस प्रदेशले ४६ अर्ब ९८ करोड २९ लाख रुपैयाँको बजेट ल्याएको छ । यो चालु आवको भन्दा २ अर्ब ६९ करोड रुपैयाँले बढी हो ।
गण्डकी प्रदेशले आगामी आवका लागि चालु आवको भन्दा १ अर्ब रुपैयाँ कमको बजेट प्रस्तुत गरेको छ । गण्डकी प्रदेशको बजेट ३१ अर्ब ९८ लाख रुपैयाँको छ ।
लुम्बिनी प्रदेशले पनि चालु आवको तुलनामा आगामी आवको लागि बजेटको आकार ६ करोड रुपैयाँले घटाएको छ । लुम्बिनी प्रदेशले ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ ।
आगामी आवको लागि कर्णाली प्रदेशले ३२ अर्ब ९९ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालु आवको भन्दा १ अर्ब ५८ करोड रुपैयाँले बढी हो ।
सुदूरपश्चिम प्रदेशले चालु आवको तुलनामा आगामी आवमा बजेटको आकार १ अर्ब ८५ करोड रुपैयाँले बढाएको छ । सुदूरपश्चिम प्रदेशको बजेट ३३ अर्ब ४७ करोड रुपैयाँ छ ।