CLI
Global College

वार्षिक बीमा नीति ल्याउँछौंः अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले आगामी आर्थिक वर्षदेखि समग्र बीमा क्षेत्रका लागि ‘वार्षिक बीमा नीति’ ल्याउन शुरू गर्ने बताएका छन् ।

नेपाल बीमा प्राधिकरणको आयोजनामा आज केन्द्रीय कार्यालय, कुपण्डोलमा जीवन बीमा कम्पनी र लघु जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीसँग वार्षिक बीमा नीति, २०८२ को मस्यौदामाथि भएको छुट्टाछुट्टै अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले बीमा क्षेत्रको सुधार विधिसम्मत् रूपमा अगाडि बढोस्, प्रक्षेपित सेवा प्रवाह होस् र बीमा क्षेत्र अझै विश्वसनीय हुनसकोस् भनेर वार्षिक बीमा नीति ल्याउन शुरू गर्न लागिएको बताए ।

अध्यक्ष ओझाले भने, “वार्षिक बीमा नीति ल्याएपछि सोही अनुसारको कार्यक्रम तथा बजेट बन्छ, स्रोत सुनिश्चित हुन्छ, कार्यान्वयन गर्ने निकाय तथा शाखा स्पष्ट हुन्छ र तिनको मूल्याङ्कन गर्न सहज हुन्छ, सबैले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्नुपर्ने हुन्छ ।”

वार्षिक बीमा नीतिको मस्यौदाको गहन् अध्ययन गरी साना ठूला सबै किसिमका सुझावहरू यही असार १५ गतेभित्र दिन बीमा कम्पनीहरूलाई आग्रह गर्दै अध्यक्ष ओझाले भने, “बीमा कम्पनीहरूबाट आउने सुझावहरूलाई नीतिमा समेट्न प्रयास गर्छौं, नीति मार्फत प्रक्षेपित संयन्त्र बनाउन खोजिएको हो, बीमाको दायरा बढाउनका लागि प्रक्षेपित सेवा महत्वपूर्ण हुन्छ, प्रक्षेपित सेवा दिनुपर्छ ।”

अध्यक्ष ओझाले भने, “बीमा कम्पनीहरूले दावी भुक्तानी गरेका छन्, तर दावी भुक्तानीमा ढिलाई हुनुनै मुख्य समस्या हो, शिघ्रताका साथ सहज रूपमा दाबी भुक्तानी भएपछि बजारमा राम्रो सन्देश जान्छ, सेवाप्रति नागरिक सन्तुष्ट भएमा मात्र बीमाप्रतिको विश्वासनीता बढ्छ, हामी सबै बीमाप्रतिको विश्वासनीयता बढाउन लाग्नुपर्छ, हामी भित्रका समस्या प्राथमिकताका साथ समाधान गर्नुपर्छ ।”

सरकारी भवन, सडक र पुरातात्विक संपदा लगायतका सरकारी संरचनाहरूको कसरी बीमा गर्ने भन्ने सम्बन्धमा अध्ययन गरी सुझाव सहितको प्रतिवेदन तयार गर्ने काम भइरहेको र छिट्टैनै यस सम्बन्धी प्रतिवेदन सरकार सक्षम बुझाउने जानकारी दिए ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले समग्र बीमा क्षेत्रलाई सही ढङ्गले अघि बढाउन प्राधिकरणले वार्षिक बीमा नीति ल्याउन शुरू गर्न लागेको उल्लेख गर्दै नीतिलाई अझै परिस्कृत बनाउनका लागि सहयोग पुग्ने गरी सुझावहरू दिन आग्रह गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारीले वार्षिक बीमा नीति, २०८२ को मस्यौदा प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू, जीवन बीमा कम्पनी र लघु जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सुन्दर प्रसाद शर्माले गरेका थिए ।

Leave Your Comment

Related News