करिब डेढ करोडको सुनसहित पोखराबाट दुई जना पक्राउ

पोखरा । पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ परेका छन् । एक करोड ३० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सुनसहित दुई जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रो बसमा जाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको पन्जाब, अमृतसरका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका १६ का ४७ वर्षीय रामबहादुर बिक छन् ।

उनीहरूलाई सुनका विभिन्न गरगहनासहित राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूको साथबाट प्रहरीले ८२ तोला १६ लाल सुनसहितका गरगहना बरामद गरेको छ । ती गरगहनाको बजार मूल्य १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद गरगहनामा सिक्री, औँठी, झुम्का, जुली, लकेट, मंगलसूत्र, पोते लगायत छन् ।

उनीहरुले अमृतसरस्थित अमरजित साहुको सुन पसलबाट सुन ल्याइ नेपालमा विक्री गर्न लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार