CLI
Global College

पूर्वप्रधानमन्त्री माधव नेपालको बयान सकियो, केहीबेरमा थुनछेक बहस

काठमाडौं ।’ विशेष अदालत काठमाडौंमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको बयान सकिएको छ । न्यायाधीशहरू तेजनारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान सकिएको हो। बयान सकिएकाले केही बेरमा नेपालविरुद्ध थुनछेक बहस सुरू हुने अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी,खम्बहादुर खातीलगायत सय बढीजनाले बहसका लागि नाम टिपाएका छन् । थुनछेक बहस पछि पुर्पक्षका लागि नेपाललाई कारागार पठाउने कि बाहिरबाटै मुद्दा लड्न पाउने आदेश हुनेछ।

बयानका लागि आफ्ना पक्षका कानुन व्यवसायी लिएर नेपाल बुधबार बिहान ११ बजे विशेष अदालत पुगेका थिए। उनका पक्षमा कानुन व्यवसायी गोविन्द बन्दी,शम्भु थापालगायतले बहस गर्नेछन्।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री  नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

२०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलिलाई आयुर्वेदिक विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेदिक औषधि उद्योग, जडीबुटी खेती र गाई फार्म चलाउन काभ्रेमा हदबन्दी छुटमा ८१५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो।

सोही स्वीकृतिबमोजिम बनेपा नगरपालिकाको साँगा, नासिकास्थान र चलाल गणेशस्थान (महेन्द्र ज्योति) क्षेत्रमा पतञ्जलिले ५९३ रोपनीभन्दा केही बढी जग्गा खरिद गरेको पाइएको छ। उद्योग र शैक्षिक प्रतिष्ठान स्थापनाका लागि किनिएको उक्त जग्गा चैत ६ र २६ गते बेच्न स्वीकृति दिइएको छ, जुन भूमिसम्बन्धी विद्यमान कानुन प्रतिकूल छ। तर, पछि हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी परेपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो। अख्तियारले भ्रष्टाचार मुद्दा दायर भएसँगै एकीकृत समाजवादीका सांसद नेपालको पद निलम्बनमा परेको छ।

पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले गैरकानूनी तवरबाट प्राप्त गरेको हदभन्दा बढी जग्गा भूमि सम्बन्धी ऐन,२०२१ को दफा ११ बमोजिम जफत तथा सरकारी सार्वजनिक कायम हुने जग्गा बेचविखन तथा सट्टापट्टा सम्बन्धी प्रस्ताव नेपाल नेतृत्वको मन्त्रिपरिषद्मा ठाडो प्रस्तावको रुपमा पेश गरे गराएको देखिएको अख्तियारको दावी छ।

 

Leave Your Comment

Related News