११ महिनामा जीवन बीमा कम्पनीको आम्दानी साढे एक खर्ब

काठमाडौं । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा साढे एक खर्ब रुपैयाँभन्दा बढीको बीमाशुल्क संकलन गरेका छन् । चालु आवको साउनदेखि जेठमसान्तसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणको तथ्यांकमा देखिन्छ । यस अवधिमा जीवन बीमा कम्पनीहरुको सक्रिया बीमालेख १ करोड ३८ लाख ३६ हजार ३७५ रहेको छ ।

यस अवधिमा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ । कम्पनीले २० लाख ८१ हजार २२ बीमालेख जारी गर्दै ४१ अर्ब २ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
बीमाशुल्कको आधारमा दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १५ लाख २१ हजार ५२९ बीमालेख बिक्री गर्दै १८ अर्ब ९० करोड ४६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले १७ अर्ब २४ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै तेस्रो स्थानमा छ । कम्पनीले यस अवधिमा ६ लाख ८३ हजार ९५६ वटा बीमालेख बिक्री गरेको प्राधिकरणको तथ्यांकमा देखिन्छ ।
१५ अर्ब २२ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हिमालयन लाइफ इन्स्योरेन्स चौथो स्थानमा छ । यस अवधिमा कम्पनीले ४ लाख ११ हजार ६४ वटा बीमालेख जारी गरेको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ६४ करोड, मेट लाइफले ५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ७ अर्ब ८६ करोड १२ लाख रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ७२ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ५५ करोड ७६ लाख रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ६ अर्ब ३२ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

साथै सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ९ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ, सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ५ अर्ब ९० करोड २९ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

११ महिनाको अवधिमा लघु बीमक कम्पनीले १ अर्ब ९ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । ४१ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दै गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा छ । क्रेट माइक्रो लाईफले ३९ करोड ९४ लाख रुपैयाँ र लिवर्टी माइक्रो लाइफले २८ करोड ५० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार