RE
Global College

आज पनि रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुनेबित्तिकै दुवै पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

रास्वपाबाट धारणा राखेकी सांसद सोबिता गौतमले ‘भिजिट भिसा’ प्रकरणमा कैयौँ दिनदेखि आवाज उठाउँदै आए पनि सरकार गम्भीर नभएको बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण टोलीमा स्पेनको कार्यक्रममा गएका केही व्यक्ति नफर्किएको विषयमा समाचार सार्वजनिक भएको भन्दै संसद्‌को ध्यानाकर्षण गराएकी थिइन् ।

प्रतिनिधिसभाको आजको बैठकमा गौतमले भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी गर्ने निकृष्ट कार्यविरुद्ध संसदीय छानबिन समिति वा उच्चस्तरीय जाँचबुझ आयोगको मागसहित रास्वा सदनमा विरोधमा रहेको प्रसंग जोड्दै भनिन्, ‘यो कार्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र मात्र होइन विभिन्न कार्यक्रमको बहानामा नेपालीहरुलाई प्रलोभनमा पारी लैजाने गिरोहसँग पनि जोडिने विषय हो ।’

राप्रपाका सांसद ज्ञानबहादुर शाहीले लामो समयदेखि संसद्मा भिजिट भिसा प्रकरणसम्बन्धी आवाज उठाइरहे पनि सरकारले सुन्न नखोजिरहेको बताए । ‘हामीले सरकारविरुद्ध गर्न खोजेको गतिविधि होइन । यो मानव बेचबिखन विरुद्धको अभियान हो,’ उनले भने, ‘छानबिन समिति बनोस् । यहाँ सङ्ख्याका आधारमा होइन अपराधका आधारमा छानबिन समिति बनोस् ।’

NECO

Leave Your Comment

Related News