काठमाडौं । २०८१ असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको भीषण पहिरोले नागढुंगा–नौबिसे सडकखण्ड अन्तर्गत झ्याप्ले खोलामा भयावह जनधनको क्षति पुर्याएको थियो । नागढुंगा चेकपोस्टबाट करिब ३ किलोमिटर दूरीमा पर्ने उक्त स्थानमा पहिरोले राजमार्गमा रोकिएका सवारी साधन पुरिँदा ३५ जनाको ज्यान गएको थियो ।
उक्त घटनामा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस, चितवनबाट काठमाडौं जाँदै गरेको बा २ ख १३४५ नम्बरको माइक्रोबस र लु १ ज ४५७७ नम्बरको विंगर सवारी साधन पूर्णरूपमा पहिरोले बगाएका थिए ।
नागढुंगा–नौबिसे सडक सुधार तथा विस्तार गरिरहेको निर्माण कम्पनी जिआङ्सु सगुन जेभी का प्रोजेक्ट म्यानेजर ज्ञानेन्द्र घिमिरेका अनुसार झ्याप्ले खोलामा गएको वर्षको असोज १२ गते आएको पहिरोको मूल कारण वर्षात्का बेला माथिल्लो भागबाट बगेको लेदो थियो ।
‘झ्याप्ले खोलाको माथि सडक छ । सो सडकभन्दा माथि प्लटिङ गरिएको जमिनबाट निस्किएको माटोलाई उचित व्यवस्थापन नगरिकन त्यत्तिकै छाडिएको थियो । घनघोर वर्षातसँगै सो माटो पानीमा बगेर तलको सानो कल्भर्टमा पुगी थुप्रियो । कल्भर्ट बन्द हुँदा पानीको निकास नहुँदा लेदो एकैपटक तल र्झयो र पहिरोको रूप लिएर सडकमा ठुलो दुर्घटना निम्तियो,’ घिमिरेले भने ।
प्रोजेक्ट म्यानेजर घिमिरेका अनुसार २०५० सालमा पनि सोही स्थानमा पहिरो गएको थियो । हालको पहिरो प्लटिङकै कारण आएको ठहर गरिएको छ ।
नागढुंगा–मुग्लिन सडकखण्डको ठेक्का सम्झौताको प्रारम्भिक योजनामा झ्याप्ले खोलाको सुधार समावेश थिएन । तर, पहिरोपछि सडक विभागले नयाँ स्टिमेट र रिडिजाइन गरेर यस क्षेत्रको संरक्षणका लागि निर्माण कार्य अघि बढाएको छ । अहिले उक्त कार्य भेरियसन अर्डर मार्फत गरिएको सडक विभागले जानकारी दिएको छ ।
सुरक्षाका लागि झ्याप्ले खोलामा विभिन्न संरचनात्मक उपायहरू अवलम्बन गरिँदैछ । निर्माण कम्पनीका अनुसार एक साताभित्र ग्याबिन प्रोटेक्सन कार्य सम्पन्न हुनेछ । ग्याबिनको वरिपरि बाँस गाड्ने, बाँसले झ्याङ बनाएर माटो समाउने प्रणाली लागू गरिनेछ ।
त्यस्तै, खोलामाथिको सडक भागमा माइक्रा पाइल गरिएको छ । उक्त ठाउँमा आरसीसी वाल निर्माण गरी सडकलाई थोरै चौडाइमा विस्तार गर्दै सुरक्षा प्रवद्र्धन गरिने जनाइएको छ ।
सडक विभाग र निर्माण कम्पनीले पहिरोको रुप लिइसकेको सो क्षेत्रलाई भविष्यमा थप दुर्घटना हुन नदिने गरी सुदृढ संरचना निर्माणका कार्यहरू तीव्र रूपमा अघि बढाएका छन् ।










