CLI
Global College

सागर डिष्टिलरीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ १ गते) अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने अर्थात १ करोड ४५ लाख २० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४५ हजार २०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सागर डिस्टिलरीले गत वर्ष (सन् २०२५) मा १८ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२३ मा १७ करोड ७० लाख आम्दानी गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले जनाएको छ ।

रेटिङ एजेन्सीले सागर डिस्टिलरीलाई ‘आइआरएन बी प्लस’ रेटिङ पुनः पुष्टि गरेको छ । यो रेटिङले कम्पनीमा वित्तीय दायित्व समयमै तिर्न असमर्थ हुने उच्च जोखिम रहेको जनाउँछने एजेन्सीको भनाई छ।

कम्पनीले पूर्ण रुपमा उत्पादन सुरु गरेको ४ वर्ष मात्र भएको हुँदा यसको दीर्घकालीन सञ्चालन क्षमतामा अझै प्रश्न उठिरहेका छन् । उत्पादन क्षमताको मात्र १२–१८ प्रतिशत मात्रै प्रयोग भइरहेको छ, जसले बजार सम्हाल्न अझै कठिनाइ हुने संकेत दिन्छ।

कम्पनी हाल नयाँ मल्ट स्पिरिट प्लान्ट निर्माणमा ३३.४ करोड रुपैयाँ लगानी गर्दैछ, जसमा ७०% ऋण र ३०% इक्विटी रहनेछ । इक्विटी भाग भने आगामी आइपीओबाट जुटाइने योजना रहेको छ । उक्त प्लान्ट समयमै निर्माण गरी प्रभावकारी सञ्चालन गर्नु कम्पनीको भावी आर्थिक स्थायित्वका लागि महत्त्वपूर्ण मानिएको छ ।

 

Leave Your Comment

Related News