RE
Global College

क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न लाइसेन्स लिनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाहरूलाई इजाजतपत्र (लाइसेन्स) लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ अनुसार लाइसेन्स प्राप्त नगरेका संस्थाहरूले विदेशी मुद्राको कारोबार गर्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

राष्ट्र बैंकले ऐनको दफा ३ बमोजिम विदेशी विनिमय कारोबारका लागि इजाजतपत्र लिनुपर्ने प्रावधान रहेको स्मरण गराउँदै सोही अनुसार विदेशी विनिमय कारोबार गर्ने संस्थाहरूलाई नियमन गर्न विभिन्न विनियमावली जारी गरिएको जनाएको छ।

क्यासिनोलाई विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र दिने व्यवस्था राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को परिच्छेद–४ मा समावेश छ।

राष्ट्र बैंकले स्पष्ट पारेको छ कि क्यासिनो लगायतका संस्थाहरूले लाइसेन्स लिएर मात्र विदेशी विनिमय, भारतीय मुद्रा समेतको कारोबार गर्न तथा गराउन सक्नेछन्।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ अन्तर्गतको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।

NECO

Leave Your Comment

Related News