काठमाडौं । नेपालमा एकभन्दा बढी डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या साढे ५ लाखभन्दा बढी पुगेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार हालसम्म ५ लाख ६२ हजार लगानीकर्तासँग एकभन्दा बढी डिम्याट खाता रहेको छ । जुन कुल डिम्याट खाता संख्याको ७.७४ प्रतिशत हिस्सा हो ।
हाल नेपालमा ७२ लाख ५९ हजार डिम्याट खाता खोलिएका छन् भने मेरो सेयर अकाउन्ट संख्या ६३ लाख ३४ हजार पुगेको छ । तीमध्ये ४४ लाख ६६ हजार ‘मेरो सेयर’ अकाउन्ट मात्र सक्रिय अवस्थामा छन् । एक व्यक्तिले एकभन्दा बढी डिम्याट खाता खोल्न सक्ने भएकाले कुल डिम्याट खाताको आधारमा लगानीकर्ताको वास्तविक संख्या ७२ लाख रहेको दाबी गर्न नमिल्ने सीडीएससीको भनाइ छ ।
नियमअनुसार एक लगानीकर्ताले अधिकतम २ वटा डिम्याट खाता खोल्न पाउने व्यवस्था छ । यही व्यवस्थाको दायराभित्र रहेर साढे ५ लाखभन्दा बढीले एकभन्दा बढी खाता खोलेका हुन् । तर, नियमविपरीत २ भन्दा बढी डिम्याट खाता खोल्नेहरु रहेको पाइए पनि प्रभावकारी नियमन नहुँदा केही लगानीकर्ताले यसको फाइदा उठाएको देखिन्छ ।
२ भन्दा बढी डिम्याट खाता खोल्न पाउनुपर्ने ब्रोकरहरुको माग
स्टक ब्रोकरहरुले भने २ भन्दा बढी डिम्याट खाता खोल्न पाउनुपर्ने माग गर्दै आएका छन् । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले यस विषयलाई पहिलादेखि नै औपचारिक रुपमा अघि बढाइ सकेको छ । एक जना ब्रोकरले जोखिम न्यूनीकरणका लागि एकभन्दा बढी डिम्याट खाता आवश्यक पर्ने बताएका छन् ।
उनका अनुसार बैंकिङ प्रणालीमा सेवाग्राहीले आवश्यकता अनुसार धेरै खाता खोल्न पाए झैं सेयर लगानीकर्तालाई पनि इच्छाअनुसार डिम्याट खाता खोल्न दिने व्यवस्था हुनुपर्छ । डिम्याट खाताको संख्या तोक्ने कुनै अन्तर्राष्ट्रिय मापदण्ड नरहेको उनको दाबी छ ।
हालको सीमा व्यवस्था पहिला कागजी रुपमा आइपीओ आवेदन दिने समयको सन्दर्भमा ल्याइएको भन्दै अहिले सबै प्रक्रिया अनलाइन भइसकेकाले यो व्यवस्था अब उपयुक्त नभएको उनले बताएका छन् ।
‘पहिला कागजी आवेदनमा एकै व्यक्तिले धेरै आवेदन नदियोस् भनेर यस्तो नियम ल्याइएको थियो, तर अहिले अनलाइन प्रणाली भएकाले यसलाई खारेज गर्नुपर्छ,’ उनले भने।
बोर्डको स्पष्टता: २ भन्दा बढी खाता व्यवस्थित गर्न निर्देशन
यस विषयमा धितोपत्र बोर्ड नेपाल (सेबोन) ले भने आश्वा प्रणालीलाई प्रभावकारी बनाउन तथा लगानीकर्ता र बजारको दीर्घकालीन हितलाई ध्यानमा राखेर हालको व्यवस्था कायम गरिएको जनाएको छ । बोर्डका अनुसार लगानी व्यवस्थापन सेवामा संलग्न लगानीकर्तालाई आवश्यकता अनुसार डिम्याट खाता खोल्न दिने र अन्य लगानीकर्ताको हकमा अधिकतम २ वटा डिम्याट खाता मात्र खोल्न पाइने व्यवस्था लागू गरिएको हो । २ भन्दा बढी डिम्याट खाता भएका लगानीकर्तालाई २ वटामा सीमित गर्न बोर्डले निर्देशन दिएको थियो । यसको कार्यान्वयन भने हुन सकेको छैन ।


