CLI
Global College

बुढीगंगाका तत्कालीन मेयर शाहसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको बुढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपक विक्रम शाहसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार अख्तियारले शाहसहित १४ जना र जाग्रिति/एम.के/नेपाल जे.भी., धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले शाहसहित १४ जना र जाग्रिति/एम.के/नेपाल जे.भी., धनगढी, कैलाली उपर ३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ बिगो कायम गर्दै मुद्धा दायर गरेको हो ।

बुढीगंगा नगरपालिकाको भवन निर्माण ठेक्का BM/NCB/W/01/077/78 मा मिलोमतो गरी भ्रष्टाचार गर्ने उद्देश्यले पूर्वनिर्धारित योग्यताको आधारमा अमुक निर्माण व्यवसायीसँग मिलेर देशमा कतै नभएको योग्यताको आधार लिई, अनावश्यक रुपमा प्रतिस्पर्धा साँगुरो पारी ठेक्का लगाउने काम भएको विषयमा अख्तियारले अनुसन्धान गरेकाे थियाे ।

अख्तियारले बुढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपक विक्रम `शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेम काजी महर्जन, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना कुमारी ठकुल्ला, प्रशासकीय अधिकृत नरेन्द्र नाथ, शिक्षा अधिकृत जयराज न्यौपाने, इन्जिनियर पारस खाती, सब-इन्जिनियर गणेशराज रेग्मी, असिस्टेन्ट सब-इन्जिनियर भिमराज गिरी, लेखापाल नवराज जोशी, खरिदार श्याम बहादुर खत्री, प्रशासन सहायक बसन्त बहादुर थापा, ना.प्रा.स. सिद्धराज जैसी, जाग्रिति / एम. के / नेपाल जे.भी. धनगढी, कैलाली, उक्त जे.भी. का आधिकारिक प्रतिनिधि तथा जाग्रिति निर्माण सेवाको प्रबन्ध सञ्चालक पुष्कर रोकाया र जाग्रिति / एम. के / नेपाल जे.भी.को आधिकारिक प्रतिनिधि सुरत बहादुर शाहविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएकाे हाे ।

‘आपसी मिलोमतो तथा योजनामा प्रतिवादीहरुले आफूहरुलाई लाभ र बुढीगंगा नगरपालिका/सार्वजनिक संस्थालाई हानी नोक्सानी पुर्‍याउने बदनियतले कार्य गरी गराई बिगो ३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ हानि नोक्सानी पुऱ्याएकोले उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम समेतका कसूरमा सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’अख्तियारले अदालतमा दायर गरेकाे आराेपपत्रमा उल्लेख गरिएकाे छ ।

 

Leave Your Comment

Related News