RE
Global College

सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यद्वारा पदभार ग्रहण

काठमाडौं । सानिमा बैंक लिमिटेडको नेतृत्व पवन कुमार आचार्यले सम्हालेका छन्। माघ १२ गते उनले औपचारिक रूपमा प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरेका हुन्। बैंकको सञ्चालक समितिले २०८२ कात्तिक २४ गते बसेको बैठकबाट आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो। त्यसै निर्णयअनुसार उनले आजदेखि जिम्मेवारी सम्हालेका हुन्।

आचार्य सानिमा बैंकका लागि नयाँ अनुहार होइनन्। उनी पछिल्ला २१ वर्षदेखि बैंकसँग आबद्ध रहँदै आएका छन्। सीईओ बन्नुअघि उनी बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत को रूपमा कार्यरत थिए। यस अवधिमा उनले दशभन्दा बढी विभाग तथा शाखाको नेतृत्व गरिसकेका छन्।

आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन्। पढाइमा पनि उनी अब्बल नै थिए, एसएलसी परीक्षामा उनले बोर्ड तेस्रो श्रेणी हासिल गरेका थिए । उनको मुख्य कार्यक्षेत्र कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन र परियोजना वित्त हो। उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल लिमिटेडको अध्यक्ष को भूमिकामा पनि काम गरिसकेका छन्।

बैंकिङ बाहेक उनले इन्जिनियरका रूपमा चार वर्षभन्दा बढी व्यावसायिक अनुभव बटुलेका छन् भने पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टी भएर पनि सेवा दिएका छन्। सानिमा बैंकले आचार्यको विश्लेषण क्षमता, रणनीतिक सोच र लामो बैंकिङ अनुभव का कारण उनको नेतृत्वमा बैंक अझ मजबुत, सफल र प्रतिष्ठित बन्दै जाने विश्वास व्यक्त गरेको छ।

NECO

Leave Your Comment

Related News