काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्सका चार सञ्चालक सहित उच्च पदाधिकारीसँग स्पष्टीकरण मागेको छ।
सञ्चालक समितिका बहालवाला सदस्यहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल र शुभाष कुमार झुनझुनवालासँग स्पष्टीकरण मागेको हो।
हिमालयन रिइन्स्योरेन्सको संस्थापक शेयरधनी दिपक भट्टसँग मिलेमतो गरी सम्पत्ती शुद्धिकरण गरेको प्रकरणमा प्राधिकरणले सञ्चालक समितिका सदस्यबाहेक प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल,नायब प्रमुख कार्यकारी अधिकृत मुकेश कपुर, मनिष कुमार, शिशिर गैरे र सन्तोष केसीसँग पनि स्पष्टीकरण मागेको छ।
नक्सालस्थित हिल्टन होटलको पुनर्बीमा विवाद र हिमालयन रिइन्स्योरेन्सको संस्थापक शेयर खरिद तथा पुनर्बीमा कमिशन वितरणका माध्यमबाट सम्पत्ति शुद्धिकरण गरेको विषयमा बीमा प्राधिकरण र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।
कम्पनीका सञ्चालकविरूद्ध समेत कानूनी कारवाही शुरू भएपछि सञ्चालक समितिबाट अध्यक्ष शेखर गोल्छा, सञ्चालकद्वय साहिल अग्रवाल र रोहित गुप्ता बाहिरिसकेका छन् । अर्को साधारण सभा नहुँदासम्म उनीहरूको ठाउँमा उदय कुमार निराला, दिपेन्द्र कुमार मिश्र र पृथ्वीराज थापा नयाँ सञ्चालक नियुक्त गरिएका छन् ।


