काठमाडौं । नेपाल र भारतबीच निकासी गरिने वस्तु आइपुग्नु अगावै सूचना प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
समझदारी पत्र अनुसार जोखिम विश्लेषण मार्फत भन्सार नियन्त्रण र व्यापार सहजीकरणलाई थप प्रभावकारी बनाउने, भन्सारको प्रक्रियामा लाग्ने समय कम गर्दै सुरक्षित अन्तर्राष्ट्रिय व्यापारलाई सुनिश्चित गर्ने, राष्ट्र कानुनले तोकेको सीमा भित्र रही विद्युतीय माध्यमबाट निकासी तथ्याङ्क आदान प्रदान गर्ने, सूचनाको उपयोग समझदारी पत्र अनुकूल मात्र गर्ने बताइएको छ ।
समझदारी पत्रको कार्यान्वयनका लागि सम्पर्क अधिकारी तोक्ने, दुवै पक्षबीच समझदारी भएका तोकिएका वस्तुमा नमुनाको रूपमा कार्यान्वयन गरी तत्पश्चात् सबै लागू गर्ने, समझदारी पत्रमा उल्लेखित विषयको कार्यान्वयनमा विवाद भएमा आपसी सहमतिमा कूटनीतिक माध्यमबाट समाधान गर्ने तथा आपसी समझदारीमा समझदारी पत्रमा संशोधन समेत गर्ने बताइएको छ ।
वस्तुको आगमन पूर्व सूचना आदान प्रदान गर्दै जोखिम व्यवस्थापन मार्फत व्यापार सहजीकरण गर्न प्रमुख व्यापारिक साझेदार मुलुकहरुकाबीच निकासी गरिने वस्तुको अग्रिम रुपमा तथ्याङ्क आदान–प्रदान गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहदै आएको छ ।
नेपालको प्रमुख व्यापारिक साझेदार मुलुक भारतसँग निकासी गर्ने वस्तुको तथ्याङ्क अग्रिम रूपमा आदान–प्रदान गर्ने व्यवस्था गर्न भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (केन्द्रिय बोर्ड आफ इनडाइरेक्ट टेयाक्स एण्ड कस्टम ) र भन्सार विभागको सहकार्यमा तयार गरिएको समझदारी पत्र (एमओयु) को मस्यौदाउपर सबै सरोकारवालाहरूसँग छलफल गरी समझदारी पत्रलाई अन्तिम रूप प्रदान गरिएको थियो । उक्त समझदारी पत्र (एमओयू) नेपाल सरकार (मन्त्रीपरिषद्) ले स्वीकृत गरी भन्सार विभागका महानिर्देशकलाई हस्ताक्षर गर्ने अख्तियारी प्रदान गरेको थियो ।
उक्त समझदारी पत्रमा सोमबार भारतको नयाँ दिल्लीमा आयोजित औपचारिक कार्यक्रममा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी र भारतका तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआइसी) का अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गरेका हुन् । उक्त अवसरमा समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम आयोजना गरेकोमा भन्सार विभागका महानिर्देशकले भारतीय पक्षलाई धन्यवाद ज्ञापन गरी सम्झौतालाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजान जोड दिँदै यसले दुवै देशको भन्सार प्रशासन बीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताए ।
उनले निकासी हुने वस्तुको आगमन पूर्व तथ्याङ्क आदान–प्रदानबाट जोखिम विश्लेषण मार्फत जोखिम देखिएका वस्तुलाई निगरानी तथा नियमन गर्न र सही कारोबार गर्ने व्यवसायीलाई थप सहजीकरण गरी भन्सार जाँचपासलाई छिटो छरितो र सहज बनाउन सहयोग पुग्ने समेत बताए । त्यसैगरी, अध्यक्ष विवेक चतुर्वेदीले भारतले नेपालसँग यस्तो समझदारी पत्रमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गर्दै उक्त समझदारी पत्रको शीघ्र कार्यान्वयनको लागि प्रतिबद्धता व्यक्त गरे ।
उक्त कार्यक्रममा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक सहित चार जना अधिकारीको उपस्थिति रहेको थियो भने भारतका तर्फबाट अध्यक्ष चतुर्वेदी तथा अन्य सदस्य सहितको उपस्थिति रहेको थियो ।


