काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकको आन्तरिक लेखापरीक्षण सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्राधिकरणले जारी गरेको बीमकको आन्तरिक लेखापरीक्षण निर्देशिका, २०७९ लाई समयसापेक्ष परिमार्जन गर्न लागिएको सन्दर्भमा सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यकारी निर्देशक सुवेदीले बीमकको आन्तरिक लेखापरीक्षण निर्देशिका परिमार्जन गर्दा समावेश गर्नुपर्ने विषयहरू र विद्यमान कमी कमजोरीलाई हटाउन गर्नुपर्ने कार्य लगायत समग्र विषयमा राय सुझावहरू दिन आग्रह गरे ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गोकुल राज दाहालले प्राधिकरणले परिमार्जन गर्न लागेको बीमकको आन्तरिक लेखापरीक्षण निर्देशिकाको मस्यौदामा प्रस्ताव गरिएका विषयवस्तुहरू सम्बन्धी प्रस्तुती गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले बीमकको आन्तरिक लेखापरीक्षण निर्देशिकाको मस्यौदामा भएका Risk Rating, Branch Audit Coverage, Sample Size, Internal Audit Function / Internal Audit Reporting Requirement का सम्बन्धमा राय सुझावहरू दिएका थिए ।
यसैगरी, कार्यक्रममा बीमकका आन्तरिक लेखापरीक्षण शाखाका प्रमुख र आन्तरिक लेखापरीक्षकहरूको सहभागिता रहेको थियो ।


