CLI

याम्बालिङ्ग हाइड्रोपावरको आइपीओ बिक्री खुला, आवेदन दिनुअघि कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओ बिक्री खुला रहेको छ । कम्पनीले आज वैशाख १६ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । यसले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ७० करोडको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरको २८ लाख कित्ता साधारण सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये, ७ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई बाँडफाँट गरिसकेको छ ।

२ लाख १० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि, १ लाख ५ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुलाई र ४२ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारणका बिक्री खुला गरेको हो ।

यो निष्कासन बन्द छिटोमा वैशाख २२ गते हुनेछ भने ढिलोमा वैशाख ३० गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कस्तो छ रेटिङको अवस्था ?

याम्बालिङ्ग हाइड्रोपावरलाई केयर रेटिङ्ग नेपालले ‘CARE – NP BB ( Is ) ” रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको ( Issuers with this rating are considered to offer moderate risk of default regarding timely servicing of financial obligations, in Nepal) जनाउँदछ ।

कति कित्ताका लागि दिने आवेदन ?

याम्बालिङ्गको सेयर पाउन लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि १७ लाख ४३ हजार कित्ता मात्र सेयर निष्कासन गरेको छ । १० कित्ताका दरले आइपीओ बाँडफाँट गर्दा १ लाख ७४ हजार ३०० जनाले मात्र सेयर हात पार्नेछन् । यसआधारमा हेर्ने हो भने यो आइपीओमा १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

आयोजना सम्बन्धी विवरण

याम्बालिङ्ग हाईड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित भएको हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुर जिल्ला ल. पु.म.न.पा. वडा नं. १०, ज्वागलमा रहेको छ । यसको जलविद्युत उत्पादन केन्द्र सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिकामा रहेको छ ।

संगठित संस्थाको स्थापना कालदेखि हालसम्मको संक्षिप्त इतिहास र संगठित संस्थाको मुख्य उद्देश्यहरु :

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको ललितपुरस्थित प्रचलित कानुन अनुसार २०६४ मंसिर ५ गते प्राइभेट लिमिटेडको रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई स्थापना भएको हो । पछि कम्पनीले २०७८ भदौ १३ गते पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो ।

यसले ऊर्जा मन्त्रालयबाट २०७३ असोज ९ गते ७.२७ मेगावाट क्षमताको जलविद्युत उत्पादनका लागि अनुमति प्राप्त भएको उक्त आयोजनाको अनुमतिपत्र २१०८ असोज ८ गतेसम्म बहाल रहनेछ । अनुमतिपत्रको अवधि समाप्त भएपछि आयोजना पूर्ण रूपमा नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिने व्यवस्था रहेको छ, जसमा आयोजनासँग सम्बन्धित सम्पूर्ण संरचना तथा जग्गाजमिन समेत समावेश हुनेछन् ।

हालसम्म कम्पनीले याम्बालिङ्ग खोलाको पानी उपयोग गरी ७.२७ मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्दै आएको छ । तर २०८१ वैशाख २० गते र २०८१/ असोज ११ गते आएको बाढीका कारण हेडवर्क्स, इन्टेक, डिस्यान्डर, पावरहाउस तथा पहुँच मार्गमा क्षति पुगेको थियो ।

उक्त क्षतिको मर्मत तथा पुनर्निर्माणका लागि क्रमशः १ करोड ३० लाख ७७ हजार र १ करोड ५८ लाख ६८ हजार २८४ खर्च भएकोमा बीमा कम्पनी एनएलजी इन्स्योरेन्सबाट क्रमशः ८१ लाख र ७२ लाख रुपैयाँ प्राप्त भएको छ । बाढीका कारण विद्युत उत्पादन अवरुद्ध हुँदा विद्युत बिक्रीबाट हुने आम्दानीमा समेत असर परेको कम्पनीले जनाएको छ ।

साथै, पुनर्निर्माण ढिलाइका कारण ब्याज, बीमा प्रिमियम तथा अन्य वित्तीय लागतमा समेत वृद्धि भएको छ। कम्पनीले हाल पुनः संरचना सुधार तथा नियमित विद्युत उत्पादन सञ्चालनलाई प्राथमिकतामा राख्दै कार्य अगाडि बढाइरहेको छ।

धितोपत्र जारी गर्नुको उद्देश्य :

धितोपत्र जारी गर्नुको उद्देश्य कम्पनीको प्रवन्ध-पत्र तथा नियमावलीमा व्यवस्था भए अनुसार जारी पुँजीको ४०% अर्थात २८ करोड रकम बराबर प्रति सेयर अंकित मुल्य १०० को २८ लाख कित्ता साधारण सेयर (आयोजना प्रभावित वासिन्दाका लागि छुट्टयाइएको समेत) सर्वसाधारणमा निष्कासन गर्न लागिएको हो । निष्काशनबाट संकलित रकम कर्जा भुक्तानीको लागि प्रयोग गर्ने मुख्य उद्देश्य रहेको छ ।

निष्कासनबाट प्राप्त हुने कूल रकमलाई प्रयोग गर्ने क्षेत्र सम्बन्धी विवरणः

प्राथमिक सेयर निष्काशनबाट प्राप्त हुने कुल रकम २८ करोड रकम एनएमबी बैंक लिमिटेडको कर्जा भुक्तानी गर्ने गर्न प्रयोग हुनेछ ।

वित्तीय अवस्था

कम्पनीको अधिकृत पुँजी र जारी पुँजी ७० करोड रुपैयाँ रहेको छ । यसको हालको चुक्ता पुँजी ४२ करोड रुपैयाँ छ । कम्पनीले आर्थिक वर्ष २०८४–८५ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त समयसम्म आइपीओ बिक्रीपछि कायम हुने ७० करोड रुपैयाँ पुँजी नै यथावत् रहनेछ ।

गत आर्थिक वर्षमा कम्पनी ५ करोड ७८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२-८३ को अन्त्यसम्ममा ७० लाख ८१ हजार नोक्सानी हुने प्रक्षेपण गरेको छ । त्यस्तै, २०८३—८४ मा कम्पनीले १ करोड ९५ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको पुससम्म कम्पनीले १ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ ।

Leave Your Comment

Related News