CLI

उद्यमी बन्न चाहनेलाई कामपाको सहुलियत ऋण

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण प्रवाह गर्ने भएको छ । स्वरोजगार बन्न र रोजगारी सिर्जना गर्न कामपाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग सम्झौता गरी ऋण प्रवाह गर्न लागेको जानकारी दिएको छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ अन्तर्गत सञ्चालित कोषको कर्जा लगानी तथा असूली कार्यविधि, २०७७ अन्तर्गत सहकार्यमा आधारित साझेदारी कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।

‘सम्मानयुक्त उद्यम, स्वरोजगार र रोजगारी सिर्जनाका लागि हामीले सहुलियत ऋणमार्फत उद्यम विकास गर्न प्रयत्न थालेका हौँ,’ कार्यवाहक प्रमुख डङ्गालले भनिन्, ‘यस कार्यक्रमका असल ऋणीलाई ६० प्रतिशत व्याज अनुदान हुनेछ । सुरुमा लिँदा आठ प्रतिशत व्याज हुनेछ । तोकिएको मापदण्डअनुसार नियमित रकम फिर्ता गर्नेलाई अन्त्यमा ६० प्रतिशत अर्थात् ४.८ प्रतिशत ब्याज अनुदानका फिर्ता हुनेछ । यसरी ऋणीका लागि व्याज ३.२ प्रतिशत मात्र हुनेछ ।’

उनका अनुसार यो सहकार्यमा आधारित साझेदारी कार्यक्रम हो । यसका लागि दुवै पक्षले रु दुई/दुई करोड राखेर छुट्टै कोष स्थापना हुनेछ । यो कोषमा भएको रकम वित्तीय संस्था तथा सहकारी संस्थामार्फत कामपा क्षेत्रभित्रका स्थानीय बासिन्दालाई कर्जा लगानी हुनेछ । यसरी जम्मा भएको रकम कामपालाई कोषले पाँच वर्षपछि फिर्ता गर्नेछ ।

यो कर्जा लगानी आर्थिक रूपले विपन्न, महिला, दलित, आदिवासी जनजाति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि हो । विदेशबाट फर्केका व्यक्ति वा तालिम प्राप्त व्यक्तिलाई कर्जा लगानी हुनेछ ।

व्यक्तिका लागि सहुलियत ब्याज दरमा प्रतिव्यक्ति अधिकतम रु पाँच लाख  र समूहगत लगानी गर्नका लागि बढीमा १५ जनाको समूहमा रु ५० लाख लगानी लगानी हुने कामपाले जानकारी दिएको छ ।

लगानीका क्षेत्र 

एग्रोपुलिङ कार्यक्रम प्रवर्द्धन, नर्सरी तथा पुष्प व्यवसाय, फोहर प्रशोधन तथा न्यूनीकरण गर्ने परियोजना, हरित चक्रीय अर्थतन्त्रमा आधारित व्यवसाय, एक वडा एक नमूना कार्यक्रम अन्तरगतका व्यवसाय, प्लम्बिङ, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल, डिजिटल सेवा, सूचना प्रविधिमा आधारित व्यवसाय लगाानीका क्षेत्र हुनेछन् ।

यस्तै साना तथा घरेलु व्यवसाय, यातायात सेवा, स्वास्थ्य तथा हेरचाह उद्योग, मर्मत तथा प्राविधिक सिपमा आधारित व्यवसाय, सिकर्मी तथा डकर्मी, रङ्गरोगन, सिल्पकार, खुद्रा तथा किराना पसल सञ्चालनजस्ता स्वदेशी श्रम, सिप, ज्ञान एवम् सानो पूँजीबाट सञ्चालन गर्न सकिने सेवामुलक स्वरोजगार व्यवसाय लगानीका क्षेत्र हुनेछन् ।

स्थानीय सीप र कच्चा पदार्थमा आधारित तथा स्थानीयस्तरमा उत्पादन हुने वस्तुको व्यवसायीकरणमा योगदान पुग्ने व्यवसाय र परम्परागत सिपसँग सम्बन्धित व्यवसाय, मूल्य श्रृङ्खलामा आधारित भएका व्यवसाय, घर बास (होम स्टे) पनि लगानीका क्षेत्र हुनेछन् ।

Leave Your Comment

Related News