CLI

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारण सभा: निजी क्षेत्र सशक्त बनाउन आर्थिक सुधार र सुशासनमा जोड

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक रुपान्तरण, निजी क्षेत्रको सुरक्षा, लगानी विस्तार र सुशासन सुदृढीकरणलाई केन्द्रमा राख्दै विस्तृत धारणा राखेका छन् ।

उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ढकालले महासंघको ६० वर्षे यात्रालाई केवल संस्थागत इतिहास नभई नेपालको आर्थिक विकासमा जोडिएका “संघर्ष, संकल्प र साझेदारीका सुनौला इँटाहरु” का रुपमा व्याख्या गरे। उनले भने, “यो यात्रा राष्ट्रिय आर्थिक मेरुदण्ड मजबुत बनाउँदै समृद्ध नेपालको आधार निर्माण गर्ने प्रक्रिया हो ।”

निजी क्षेत्रको सुरक्षा र पिएसपीपी  कार्यान्वयनमा जोड

ढकालले हालै सरकारले पारित गरेको ‘निजी क्षेत्र प्रवर्द्धन एवं संरक्षण रणनीति (पिएसपीपी)’ लाई ऐतिहासिक कदम भन्दै आभार व्यक्त गरे। उनका अनुसार यो रणनीतिले निजी क्षेत्रलाई भौतिक मात्र होइन, नीतिगत सुरक्षा पनि प्रदान गर्नेछ।

“निजी क्षेत्रमाथि हुने आक्रमण र अस्थिरताका घटनाबीच यो रणनीति अत्यन्त आवश्यक थियो,” उनले भने। उनले यसको कार्यान्वयनमा महासंघ सरकारसँग सहकार्य गर्न तयार रहेको बताए।

आर्थिक सुधार र स्थायी सरकारको अवसर

अध्यक्ष ढकालले झण्डै दुई तिहाइ बहुमतको स्थायी सरकार गठनलाई देशका लागि ठूलो अवसरका रुपमा व्याख्या गर्दै यसलाई विकास र आर्थिक स्थायित्वमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए।

उनले भने, “इतिहासमा हामीले यस्ता अवसर गुमाएका उदाहरण छन्, अब त्यसो हुन दिनु हुँदैन।” महासंघले अघि सारेको दोस्रो चरणको आर्थिक सुधार, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका प्रतिवेदन तथा कानुनी सुधार प्रक्रियालाई सरकारले अघि बढाएकोमा उनले सकारात्मक टिप्पणी गरे।

रोजगारी, जनसंख्या र आर्थिक चुनौती

ढकालले नेपालको युवा जनसंख्या (मिडियन उमेर २५ वर्ष) लाई ठूलो अवसरका रुपमा व्याख्या गर्दै देशभित्रै रोजगारी सिर्जना गर्न नसक्दा विदेश पलायन बढेको बताए । उनका अनुसार वार्षिक करिब ५ लाख युवा श्रम बजारमा प्रवेश गर्छन् भने ७ लाखसम्म वैदेशिक रोजगारीमा जान बाध्य छन् । उनले भने, “देशभित्रै मर्यादित रोजगारी सिर्जना नगरेसम्म निराशालाई आशामा बदल्न सकिँदैन।”

आर्थिक वृद्धिदर, लगानी र अन्तर्राष्ट्रिय तुलना

ढकालले नेपालको अर्थतन्त्र औसत ४ प्रतिशत वृद्धिदरमा सीमित रहेको उल्लेख गर्दै प्रत्यक्ष वैदेशिक लगानी (FDI) कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशतभन्दा कम रहेको बताए।

उनले दक्षिण कोरिया र नेपालको आर्थिक यात्राको तुलना गर्दै भने, “हामीसँग ५० डलर प्रतिव्यक्ति आय हुँदा कोरियाको १०० डलर थियो, आज उनीहरु ४० हजार डलरमा पुग्दा हामी १४ सय डलरमा छौँ।” उनका अनुसार भियतनाम, बंगलादेश, रुवान्डा, लाओसजस्ता देशहरुले निजी क्षेत्रको सक्रियताले तीव्र आर्थिक प्रगति गरेका छन्।

लगानी वातावरण र सुशासन

अध्यक्ष ढकालले अत्यधिक नियमन र नीतिगत अस्थिरताले लगानी वातावरण कमजोर भएको बताए। उनले सरकारका सबै निकायको मुख्य उद्देश्य लगानीमैत्री वातावरण बनाउनु हुनुपर्ने धारणा राखे।

सुशासनलाई आर्थिक विकासको आधार भन्दै उनले प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगमार्फत सेवा प्रवाह सुधार गर्नुपर्नेमा जोड दिए। उनले भने, “नागरिक एपबाटै व्यवसाय दर्ता लगायत सम्पूर्ण सेवा उपलब्ध हुनुपर्छ।”

महासंघका पहल र लगानी परियोजना

ढकालले बागलुङको ढोरपाटनमा भएको कार्यकारिणी बैठकको निर्णयअनुसार १० अर्ब रुपैयाँको लगानी कम्पनी स्थापना भइसकेको जानकारी दिए। उक्त कम्पनीमार्फत ४०–५० अर्ब रुपैयाँसम्मका ठूला परियोजना अघि बढाउन सकिने उनले बताए।उनले भने, “नेपालमा केही हुँदैन भन्ने भाष्यलाई चिर्न स्वदेशी पुँजीबाट ठूला परियोजना सम्भव छन् भन्ने सन्देश दिन चाहेका हौं।”

सुशासन, एफडीआई र भविष्यको आशा

ढकालले विदेशी लगानी आकर्षित गर्न सुशासन अनिवार्य शर्त भएको उल्लेख गर्दै महासंघले विभिन्न देशमा आयोजना गरेको लगानी सम्मेलनमा सकारात्मक प्रतिक्रिया आएको बताए।

उनले भने, “यदि हामीले सुशासन सुनिश्चित गर्न सक्यौँ भने नेपालमा ठूलो सम्भावना छ।” अन्त्यमा अध्यक्ष ढकालले निजी क्षेत्रलाई आर्थिक सुधारको नेतृत्व लिन आह्वान गर्दै आशावादी दृष्टिकोण प्रस्तुत गरे।

“म प्रतिकूलतामा अनुकूलता खोज्ने व्यक्ति हुँ। हामीसँग धैर्यता, संयमता र संघर्ष गर्ने क्षमता छ। त्यसैले म निराशा होइन, आशा फैलाउन चाहन्छु,” उनले भने । उद्घाटन सत्रले सरकार र निजी क्षेत्रबीच सहकार्यलाई अझ सुदृढ बनाउँदै आर्थिक सुधारको नयाँ चरण अघि बढाउने अपेक्षा गरिएको छ ।

Leave Your Comment

Related News