काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आइपीओ बिक्री खुला रहेको छ । कम्पनीले वैशाख २३ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । यसले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब २० करोड ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार रुपैयाँको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरको ४२ लाख ३० हजार ६६८ कित्ता साधारण सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये, १२ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई बाँडफाँट गरिसकेको छ ।
३ लाख ३ हजार ६७ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि, १ लाख ५१ हजार ५३३ कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुलाई र ६० हजार ६१३ कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको २५ लाख १५ हजार ४५५ कित्ता सेयर सर्वसाधारणका बिक्री खुला गरेको हो ।
यो निष्कासन बन्द छिटोमा वैशाख २८ गते हुनेछ भने ढिलोमा जेठ ६ गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
कस्तो छ रेटिङको अवस्था ?
टक्सार पिखुवा खोला हाइड्रोपावरलाई क्रेडिट रेटिङ्ग नेपाल लिमिटेड CARE-NP BB + (Is) [Double B plus (Issuer) ] रेटिङ्ग प्रदान गरेको छ । CARE-NP BB + (Is) ले “समयमै वित्तीय दायित्व भुक्तानीका सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको” बुझिन्छ ।

कति कित्ताका लागि दिने आवेदन ?
टक्सार पिखुवा खोलाको सेयर पाउन लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता मात्र सेयर निष्कासन गरेको छ । १० कित्ताका दरले आइपीओ बाँडफाँट गर्दा २ लाख ५१ हजार ५४५ जनाले मात्र सेयर हात पार्नेछन् ।
यसआधारमा हेर्ने हो भने यो आइपीओमा १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

आयोजना सम्बन्धी विवरण
टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापना भएको हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय ठेगाना का.म.न.पा- २२, खिचापोखरी, काठमाण्डौं रहेको छ । यस कम्पनीको जलविद्युत उत्पादन केन्द्र भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नं. १२ रहेको छ । यसले कम्पनी रजिष्ट्रार कार्यालयबाट २०७८ कात्तिक १० गते कारोबार गर्न स्विकृति प्राप्त गरेको हो ।
संगठित संस्थाको स्थापना कालदेखि हालसम्मको संक्षिप्त इतिहास र संगठित संस्थाको मुख्य उद्देश्यहरु :
टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले जलविद्युत आयोजना विकास, निर्माण तथा सञ्चालन गर्ने उद्देश्यसहित सन् २०१४ (वि.सं. २०७१ वैशाख १०) मा निजी क्षेत्रको कम्पनीका रूपमा स्थापना भएको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणको जनसहभागिता विस्तार गर्ने उद्देश्यले वि.सं. २०७८ असोज १४ गते प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको जनाएको छ।
हाल कम्पनीमा ३९१ जना संस्थापक शेयरधनी रहेका छन्। संस्थापकहरू ऊर्जा, बैंक तथा वित्त, स्वास्थ्य, शिक्षा, निर्माण, परामर्श तथा व्यवस्थापन क्षेत्रका अनुभवी व्यवसायी तथा विज्ञहरू रहेको कम्पनीले उल्लेख गरेको छ । भोजपुर नगरपालिका तथा रामप्रसाद राई गाउँपालिका क्षेत्रमा निर्माण गरिएको ८ मेगावाट क्षमताको उक्त आयोजनाका लागि कम्पनीले २०७३ असार ३ गते नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट विद्युत उत्पादन अनुमति प्राप्त गरेको थियो ।
कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच २०७३ पुस १ गते विद्युत खरिद–बिक्री सम्झौता (PPA) सम्पन्न भएको थियो । ‘टेक अर पे’ प्रावधानमा आधारित उक्त सम्झौता अनुसार आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने व्यवस्था गरिएको छ ।
सम्झौता तथा पछि गरिएको छैटौं संशोधनअनुसार आयोजनाले वि.सं. २०७८ वैशाख १ गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु गरेको हो । हाल आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमार्फत बिक्री भइरहेको कम्पनीले जनाएको छ ।
विद्युत विकास विभागबाट प्राप्त विद्युत उत्पादन अनुमतिपत्र २१०८ असार २ गतेसम्म बहाल रहनेछ । त्यस्तै, विद्युत प्रसारण अनुमतिपत्र २१०२ असार ११ गतेसम्म कायम रहने जानकारी दिइएको छ ।
कम्पनीका अनुसार आयोजनाको कुल निर्माण लागत ब्याजसहित १ अर्ब ८८ करोड २१ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।

धितोपत्र जारी गर्नुको उद्देश्य
कम्पनीको प्रवन्ध–पत्रमा जारी पुँजीको ३५.२६ प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्नुपर्ने प्रावधान रहेको र बिद्युत उत्पादन अनुमतिपत्रमा बढीमा १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुलाई बिक्री गर्नुपर्ने प्रावधान रहेकोले सेयर जारी गर्न लागेको जनाएको छ ।
साथै, कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्ने, कम्पनीको प्रवन्ध–पत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नु पर्ने कार्यहरुको लागि आवश्यक पर्ने पुँजीको प्रवन्ध गर्ने, आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दाहरुका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री गरी स्थानीय बासिन्दाहरुलाई लगानीको अवसर दिन र बैकबाट लिईएको कर्जा र कम्पनीले भुक्तान गर्न बाँकी अन्य दायित्व भुक्तान गर्न कम्पनीले सेयर जारी गर्न लागेको हो ।
निष्कासनबाट प्राप्त हुने कूल रकमलाई प्रयोग गर्ने क्षेत्र सम्बन्धी विवरणः

वित्तीय अवस्था
कम्पनीको अधिकृत पुँजी र जारी पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ । यसको हालको चुक्ता पुँजी ७७ करोड ६९ लाख ३३ हजार रुपैयाँ छ । कम्पनीले आर्थिक वर्ष २०८४–८५ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त समयसम्म आइपीओ बिक्रीपछि कायम हुने १ अर्ब २० करोड रुपैयाँ पुँजी नै यथावत् रहनेछ । गत आर्थिक वर्षमा कम्पनी ५६ लाख १२ हजार रुपैयाँ घाटा व्यहोरेको छ ।
आर्थिक वर्ष २०८२-८३ को अन्त्यसम्ममा ३ करोड ८ लाख नाफा कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, २०८३—८४ मा कम्पनीले ८ करोड ५० लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । पुससम्म कम्पनीको अन्य इक्विटीमा ४ करोड ७२ लाख जम्मा रहेको छ । दीर्घकालिन ऋण १ अर्ब ११ करोड ९२ लाख रुपैयाँ छ । सञ्चालन आम्दानी १४ करोड ४३ लाख रहेको छ । चालु आवको पुससम्म कम्पनीले ४ करोड १३ लाख नाफा आर्जन गरेको छ ।



