काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी भइरहेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले युरोपेली मुलुकसँग श्रम सम्झौताको लागि परराष्ट्र मन्त्रालयमार्फत् पहल अघि बढाइएको जानकारी गराए ।
अहिले १३ देशसँग मात्रै द्विपक्षीय श्रम सम्झौता भएपनि १७८ देशमा नेपाली श्रमिकहरू रहेको भन्दै यादवले वैदेशिक रोजगार प्रक्रियामा भइरहेको आर्थिक ठगी र श्रम शोषण नियन्त्रण गर्ने प्रयास भइरहेको बताए ।
श्रमका लागि विभिन्न देशमा जाने नागरिकमध्ये ४८ प्रतिशतले व्यक्तिगत श्रम स्वीकृति लिने गरेको उनले बताए । मन्त्री यादवले विभिन्न देशमा महिला घरेलु श्रमिकहरु गैरकानूनी बाटोबाट जाने गरेकाले समस्या पर्दा राज्यले केहि गर्न नसकेको उल्लेख गरे । श्रम सम्झौता भए विदेशमा काम गर्नका लागि नेपालीलाई सहज हुने उनको भनाई छ ।
मन्त्री यादवले विभिन्न देशमा महिला घरेलु श्रमिकहरु गैरकानूनी बाटोबाट जाने गरेकाले समस्या पर्दा राज्यले केही गर्न नसकेको बताए । पछिल्लो समय युद्धका कारण विदेशमा मृत्यु भएका श्रमिकको शव ल्याउन केही ढिलाइ भएको भन्दै अब भने ढिला नहुने उनको प्रष्टोक्ति थियो ।
समिति सदस्यहरूले वैदेशिक रोजगारमा जाने नेपालीलाई ठगिनबाट रोक्नका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने सुझाव दिएका थिए ।
बैठकमा समिति सभापति रहबर अन्सारीले मन्त्री यादवलाई समितिको यसअघिको निर्देशन तथा सुझावहरू हस्तान्तरण गरेका थिए ।


