CLI

गण्डकी प्रदेश अन्तरजिल्ला भलिबलको तयारी पूरा

तनहुँ । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शनिबारदेखि दमौलीमा हुने गण्डकी प्रदेशस्तरीय अन्तरजिल्ला महिला पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

निकट भविष्यमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट भलिबलको महिला तथा पुरुष टिम छनोट गर्ने उद्देश्यले यहाँ भलिबल प्रतियोगिता हुन लागेको हो।

व्यास नगरपालिका–३ खुल्ला मैदानमा हुने प्रतियोगिताका लागि मैदान तयार भइसकेको समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए। प्रतियोगितामा सहभागी हुनका लागि गण्डकी प्रदेशका १० वटा जिल्लाबाट महिला तथा पुरुष खेलाडी दमौली आउँदै छन् । त्यस्तै मनाङबाट भने पुरुष खेलाडीको सहभागिता नरहने र महिलाको मात्रै सहभागिता रहने पाण्डेले बताए।
छनोट खेल भएकाले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, रु २० हजार र रु १५ हजार नगद प्रदान गरिनेछ । प्रतियोगितामा महिला पुरुष गरी २४० खेलाडी, २० प्रशिक्षक र २० अफिसियल उपस्थित हुनेछन्।
पाण्डेले प्रतियोगितालाई गण्डकी प्रदेशका सबै जिल्लाका खेलाडीहरूको क्षमता उजागर गर्ने, उनीहरूबीच स्वस्थ प्रतिस्पर्धा विकास गर्ने र खेलकुदमार्फत सामाजिक एकता मजबुत बनाउने एउटा साझा अभियानका रूपमा लिएको उल्लेख गरे।

पछिल्लो समय भलिबलमा युवा पुस्ताको आकर्षण बढ्दै गए पनि उनीहरूको प्रतिभालाई सही मञ्चमा पुर्‍याउने संरचनागत अवसर अझै पर्याप्त छैन । “हामीले धेरै प्रतिभाशाली खेलाडीहरू गाउँगाउँमा देखिरहेका छौँ । उनीहरूलाई नियमित प्रतियोगिता, उचित प्रशिक्षण र प्रतिस्पर्धात्मक वातावरणको अभाव छ”, उनले भने, “त्यसैले यो प्रतियोगिता उनीहरूका लागि एउटा महत्त्वपूर्ण अवसर हो, जहाँ उनीहरूले आफ्नो क्षमता प्रमाणित गर्न सक्छन् ।”

Leave Your Comment

Related News