काठमाडौं । बोटलर्स नेपालका दुवै कम्पनी बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)ले चालु आर्थिक वर्ष २०८२-८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये, बोटलर्स नेपाल (तराई) ले चालु आवको तेस्रो त्रैमासमा २७ करोड ७० लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २४३ प्रतिशत धेरै हो ।
गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ७ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो । चालु आवको ९ महिनाको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ५५ करोड ८० लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ९१ करोड ३६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा १ अर्ब ५५ करोड ४७ लाख रुपैयाँ, अन्य सञ्चालन आम्दानी ७ करोड २ लाख ३५ हजार रुपैयाँ रहेको छ । सञ्चालन नाफा ३९ करोड ९९ लाख ६६ हजार रुपैयाँ रहेको छ ।
यसको प्रशासनिक तथा सञ्चालन खर्च २४ करोड ७५ लाख रुपैयाँ र वित्त खर्व १० करोड ९६ लाख रुपैयाँ रहेको छ । १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ३ अर्ब ६७ करोड ५८ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ३०५ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ ३ हजार १३८ रुपैयाँ रहेको छ ।
यता, बोटलर्स नेपाल (बालाजु) को चालु आवको तेस्रो त्रैमासमा खुद नाफा १ हजार २७६ प्रतिशत बढेर २१ करोड ९९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५९ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको ९ महिनाको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७ अर्ब ६५ करोड ४१ लाख २२ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ७ करोड ४४ लाख ३४ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा २ अर्ब १३ करोड ६५ लाख ९३ हजार रुपैयाँ, अन्य सञ्चालन आम्दानी ६ करोड ६३ लाख ८२ हजार रुपैयाँ र सञ्चालन नाफा ३९ करोड ६५ लाख ७० हजार रुपैयाँ रहेको छ । चालु आवको चैतमा कम्पनीको प्रशासनिक तथा सञ्चालन खर्च ४९ करोड ३१ लाख रुपैयाँ र वित्तीय लागत १२ करोड २१ लाख रुपैयाँ रहेको छ ।
१९ करोड ४८ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ५ अर्ब ८७ करोड ६७ लाख ८४ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३ हजार २९७ रुपैयाँ रहेको छ ।


