काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिले सीमा नाकाबाट १०० रुपैयाँ भन्दा माथिको मालसामान भन्सार शुल्क नतिरी ल्याउन नपाइने नियम संशोधन हुने बताएका छन्। उनले सीमाका नागरिकलाई भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढीको सामग्री ल्याउँदा भन्सार शुल्क बुझाउनुपर्ने व्यवस्थाले समस्या परेको भन्दै यसमा संशोधन हुने बताएका हुन् ।
सरकारले सीमावर्ती भारतीय बजारबाट ल्याइने १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार महसुल अनिवार्य गरेको छ। यसले गर्दा सीमाका कम रकमको सामग्री भारतीय बजारबाट ल्याउने सर्वसाधारणले कष्ट भोग्नु परेको छ ।
मंगलबार अर्थ समितिमा आयोजित छलफलमा बोल्दै उनले सिमानामा १ ०० रुपैयाँभन्दा माथिको वस्तु ल्याउन रोक लगाउने नियम अघिल्लो सरकारले बनाएको बताए । उनले हाल १०० रुपैयाँको सामग्री ल्याउँदा तिनुपर्ने भन्सार शुल्कका कारण सर्वसाधारणमा मारमा परेको बताउँदै यसको सीमा बढाइने बताए ।
‘यो हामी आएर बनाएको नियम होइन,’ उनले भने, ‘यो सीमा बढाउँछौं, तर राजस्व चुहावट गर्ने उद्देश्यले हुने तस्करीमा भने हामी निर्मम हुन्छौं ।’ घरायसी सामानको नाममा दैनिक १०/१२ पटक ओहोर दोहोर गरेर सामान ओसार्ने प्रवृत्तिमा कडाइ गरिने अर्थमन्त्री डा.वाग्लेले जानकारी दिए ।


