काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो (मार्जिन नेचर) कर्जामा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म यस्तो कर्जा २८.४९ प्रतिशतले बढेर १ खर्ब ५९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चैतसम्म यस्तो कर्जा १ खर्ब २४ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो ।
विशेषगरी २५ लाख रुपैयाँभन्दा कमको सेयर धितो कर्जामा सबैभन्दा धेरै वृद्धि देखिएको छ । उक्त शीर्षकअन्तर्गतको कर्जा गत असारदेखि हालसम्म ४७.२ प्रतिशतले बढेर १२ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । यसले सानो पूँजीबाट सेयर बजारमा प्रवेश गर्ने नयाँ लगानीकर्ताको संख्या बढ्दै गएको संकेत गरेको विश्लेषकहरु बताउँछन् । पछिल्लो समय बजारमा खुद्रा लगानीकर्ताको सक्रियता बढेसँगै साना आकारका धितो कर्जाको माग उच्च बनेको देखिएको हो ।
त्यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा ९ महिनामा ९.५ प्रतिशतले बढेर १९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १४ प्रतिशतले बढेर १८ अर्ब २६ करोड रुपैयाँ नाघेको छ । सबैभन्दा ठूलो हिस्सा भने १ करोड रुपैयाँभन्दा माथिको कर्जाले ओगटेको छ । ९ महिनामा यस्तो कर्जा ११.१ प्रतिशतले बढेर १ खर्ब ९ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकको तथ्यांकले सेयर बजारमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा विस्तार अझै जारी रहेको देखाएको छ । बजारमा लगानीकर्ताको आकर्षण बढ्दै जाँदा मार्जिन कर्जाको आकार पनि विस्तार हुँदै गएको देखिन्छ ।
बैंक ब्याजदर घट्दै जानु, वित्तीय प्रणालीमा तरलता सहज हुनु तथा सेयर कर्जामा पहुँच विस्तार हुनुका कारण मध्यम तथा नयाँ लगानीकर्ता बजारतर्फ आकर्षित भएको विश्लेषण गरिएको छ । पछिल्लो समय अनलाइन ट्रेडिङको पहुँच विस्तार, सामाजिक सञ्जालमा बढ्दो लगानी बहस तथा बजारप्रतिको चासोले पनि नयाँ लगानीकर्ता थपिने क्रमलाई तीव्र बनाएको देखिन्छ ।
यद्यपि, कर्जाको आकार तीव्र रुपमा बढे पनि नेप्से परिसूचकमा सोही अनुपातको सुधार भने देखिएको छैन । बजार अझै राजनीतिक अन्योल, आर्थिक सुस्तता तथा लगानीकर्ताको मनोवैज्ञानिक दबाबबाट पूर्ण रुपमा मुक्त हुन सकेको अवस्था छैन । बजार जानकारहरुका अनुसार पछिल्लो तथ्यांकले बजारमा साना लगानीकर्ताको आधार विस्तार भइरहेको संकेत गरे पनि बजारको दिशा अझै ठूला लगानीकर्ताको गतिविधिबाट प्रभावित हुने अवस्था कायम रहेको देखाएको छ ।



