काठमाडौं ।अन्तर्देशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित गर्ने उद्देश्यले श्रीलंकाको लंकापे र नेपालको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच क्रस–बोर्डर क्यूआर भुक्तानीको थालनी भएको छ।
उक्त व्यवस्थाले श्रीलंका भ्रमण गर्ने नेपाली यात्रुहरुले कनेक्टआईपीएस वा अन्य मोबाइल बैंकिङ्ग एपमार्फत श्रीलंकामा रहेका ४ लाख बढी लंकाक्यूआर मर्चेन्टहरु मा स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन्।
श्रीलंकाको कोलम्बोमा आयोजित एक विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंक, सेन्ट्रल बैंक अफ नेपाल, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, लन्कापे तथा दुवै देशहरुका सहभागी बैंक तथा वित्तीय संस्थाका वरिष्ठ प्रतिनिधिहरुको उपस्थितिमा औपचरिक रुपमा क्रस–बोर्डर भुक्तानीको शुरुवात भएको संयूक्त रुपमा घोषणा गरिएको हो।
यस सुरूवातलाई दक्षिण एशियाली देशहरु बीचको डिजिटल भुक्तानीको क्षेत्रीय अन्तराबद्धताको लागि एक महत्वपूर्ण कोशेढुङ्गाको रुपमा लिइएको छ। यसले सुरक्षित, रियल टाइम तथा अन्तरआबद्ध माध्यमहरु प्रदान गर्दै दुइ देश बीच भुक्तानी इकोसिस्टमलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
नेपाल र श्रीलंकाबीच दीर्घकालीन ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्बन्ध रहँदै आएको छ। दुई देशबीचको बढ्दो पर्यटन तथा व्यापारिक आदान प्रदानले यस सम्बन्धलाई थप प्रगाढ बनाएको छ। हाल थालनी गरिएको यस क्रस–बोर्डर भुक्तानीको व्यवस्थाले पर्यटक र व्यापारिक भ्रमणको अनुभवलाई सहज, सुरक्षित र नगदरहित भुक्तानीको विकल्प प्रदान गरेर थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ । नेपाल र श्रीलंकाका राष्ट्रिय भुक्तानी पूर्वाधार बीचको अन्तर आबद्धताले साना तथा मध्यस्मस्तरीय उद्यमहरुलाई समेत अन्तराष्ट्रिय ग्राहकहरु सम्मको पहुँच दिने नयाँ अवसर सृजना गरेको छ।
यस व्यवस्था अनुसार, नेपाली प्रयोगकर्ताहरुले नेपालका हाल सहभागी डिजिटल भुक्तानी एपहरुमार्फत श्रीलंकामा लंकाक्यूआर स्क्यान गरी रियलटाइम भुक्तानी गर्न सक्ने छन्। यस्ता भुक्तानीहरु राष्ट्रियस्तरका सुरक्षित भुक्तानी प्रणालीमार्फत हुने भएकाले भुक्तानीकर्ता तथा मर्चेन्टका लागी सुरक्षित र सहज भुक्तानीको माध्यमको रुपमा उपलब्ध हुनेछ।
यो सेवा प्रारम्भिक चरणमा लक्ष्मी सनराइज बैंकले इस्युअर ब्यांकको रुपमा सुरू गरेको छ, जस अनुसार लक्ष्मी सनराइज बैंकद्वारा जारी गरिएका डलर कार्ड/इन्स्ट्रुमेन्टहरु कनेक्टआईपीएस एपसँग लिंक गरी श्रीलंकामा क्यूआर भुक्तानी गर्न सकिनेछ।
आगामी दिनमा अन्य मोबाइल ब्यांकिङ एपहरुमा पनि यो सुविधा थप गरिने छ, जसले श्रीलंका यात्राका क्रममा आवश्यक भुक्तानीलाई सहजीकरण गर्नेछ।
क्रस–बोर्डर क्यूआर भुक्तानीको यस व्यवस्थाले दुवै देशको डिजिटल वित्तीय सेवाहरूलाई समावेशी बनाउने, क्षेत्रीय भुक्तानीलाई अन्तराबद्ध गर्ने तथा आधुनिक भुक्तानी प्रणालीहरुको स्वीकार्यतालाई बढाउने साझा उद्देश्यलाई दर्शाएको छ।

दुई राष्ट्रिय भुक्तानी इकोसिस्टमहरूलाई जोड्ने यस पहलले पर्यटन, व्यापार तथा दुवै देशका नागरिक बीच सहज भुक्तानी गर्न सकिने व्यवस्थालाई सहजिकरण गर्ने अपेक्षा गरिएको छ।


