काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभामा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव टेबल भएको छ । बुधबार बसेको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रस्ताव गरेका हुन् ।
सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई प्रस्ताव राख्न समय दिएपछि विपक्षी दलका नेताहरू उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका नेतालाई आफ्ना भनाइ राख्न समय दिएका थिए ।
सभामुखको समय पाएपछि प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङ्देम्बेले पुन नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने भन्दै आफूहरूले प्रस्ताव टेबल गर्न दिएर प्रधानमन्त्रीको सम्मान गरेको बताए । आङ्देम्बेले प्रधानमन्त्रीलाई उपस्थितिका लागि रुलिङ गर्न माग गरे ।
जवाफमा सभामुखले आफ्नो ध्यानाकर्षण भएको भन्दै नीति तथा कार्यक्रममा ३५ जनाको संशोधन प्रस्ताव परेको जानकारी दिए । सभामुखले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र उपस्थित हुने नहुनेबारे तय गर्न सकिने भन्दै विपक्षी सांसदहरूलाई आसन ग्रहण गरेर सभा अघि बढाउन आग्रह गरे ।
तर सभामुख अर्यालको आग्रहको विपक्षी सांसदहरूले सुनुवाइ गरेनन् । उनीहरू उठिरहे । यही बिचमा रास्वपा सांसद कवीन्द्र बुर्लाकोटी उठेर बोल्ने समय माग गरे । तर सभामुखले उनलाई समय दिएनन् ।
प्रमुख प्रतिपक्ष दलका नेता आङदेम्बेलाई एक मिनेटमा आफ्नो कुरा राख्न समय दिए । तर आङदेम्बेले प्रमुख प्रतिपक्ष दललाई समय तोक्नु गलत भएको भन्दै प्रधानमन्त्रीकै नीति तथा कार्यक्रमको जवाफ दिनुपर्छ भनेर भन्नु गल्ती हो र ? भन्दै प्रश्न गरे ।
उनले सदन सञ्चालन गर्न सभामुखलाई हामीले जसरी सहयोग गरेका जसरी नै सदनको निरन्तरता चाहन्छौँ, जबकि निकासका लागि । छलफलका लागि रुलिङ गर्नुपर्ने बताए ।


