काठमाडौं । नेपाल टेलिकमले आफनो सेवाग्राहीका लागि अन्तराष्ट्रिय बहिर्गमन कलमा सहुलियत प्रदान गरेको छ ।
टेलिकमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार अब विभिन्न ५८ वटा देशमा कल गर्दा ६० सेकेन्डको पल्स दर कायम हुनेछ। यो नयाँ व्यवस्था भोलि अर्थात् २०८३ जेठ १ गतेदेखि लागु हुने टेलिकमले जनाएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको २०८२ फागुन १ गतेको निर्णयानुसार प्राप्त स्वीकृति बमोजिम टेलिकमले यो परिमार्जन गरेको हो। अब ग्राहकले इन्टरनेसनल एक्सेस कोडहरू ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी तोकिएका देशहरूमा कल गर्दा प्रत्येक ६० सेकेन्डको एक पल्स गणना गरिनेछ। यसअघि फरक पल्स दर रहेकोमा अब एक मिनेटको आधारमा शुल्क लाग्ने व्यवस्था गरिएको छ।
नयाँ पल्स दर लागु हुने देशहरूमा भारत, चीन, साउदी अरेबिया, दक्षिण कोरिया, सिंगापुर, थाइल्याण्ड, मलेसिया, संयुक्त अरब इमिरेट्स र अमेरिका जस्ता प्रमुख गन्तव्यहरू रहेका छन्। यसैगरी अङगुइला, अल्जेरिया, अमेरिकन समोआ, अजरबैजान, बहामास, बेनिन, ब्राजिल, ब्रुनाई, कोमोरस, कुक आइल्यान्ड, डिएगो गार्सिया, इस्ट टिमोर, इथियोपिया, फिजी, फ्रेन्च पोलिनेसिया, गुआम, गिनी, गिनी–बिसाउ, हैटी, इन्डोनेसिया, आइभोरी कोस्ट, किरिबाटी, लेसोथो, लाइबेरिया, मकाउ, माल्दिभ्स, माली, मेक्सिको, माइक्रोनेसिया, मोजाम्बिक र म्यानम्यारमा पनि यही दर लागु हुनेछ।
यस्तै नाउरु, न्यु क्यालेडोनिया, न्युजिल्यान्ड, नाइजेरिया, निउ, पलाउ, पनामा, पपुआ न्युगिनी, समोआ, सोलोमन आइल्यान्ड, साउथ अफ्रिका, श्रीलंका, सुडान, सुरिनाम, टोगो, टोकेलाउ, टोङगा, टर्की, टुभालु, भानुआतु र भियतनाममा कल गर्दा समेत ६० सेकेन्डको पल्स दर लागु हुने सह–प्रवक्ता प्रक्षेत थापा क्षेत्रीले जानकारी दिएका छन्।
नेपाल टेलिकमले हाल विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकहरूमा कल गर्नका लागि विभिन्न एक्सेस कोडको व्यवस्था गरेको छ। कल गर्दा ग्राहकले सुरुमा एक्सेस कोड, त्यसपछि कन्ट्री कोड र अन्त्यमा सेवा प्रदायकको नम्बर डायल गर्नुपर्नेछ।


