CLI

सूचीकृत होटल कम्पनीहरु दबाबमा, २ वटाले मात्रै कमाए नाफा

काठमाडौं । होटल्स तथा पर्यटन समूहका ७ वटा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये ५ वटा कम्पनीले खुद घाटा व्यहोरेक छन् । सोल्टी होटल र कालिन्चोक दर्शन बाहेक बाँकी कम्पनीले घाटा व्यहोरेक छन् ।

सोल्टी होटलले ५५ करोड ७ लाख र कालिन्चोकले भने ४ करोड ९६ लाख नाफा कमाएको छ । बाँकी ५ वटा कम्पनीले घाटा व्यहोरेका छन् । तारागाउँ रिजेन्सी होटलले ९ महिनामा १४ करोड ४८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यता, सिटी होटलले १३ करोड ८७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

विश्लेषकहरुका अनुसार होटल तथा पर्यटन क्षेत्रको कमजोर प्रदर्शनको मुख्य कारण पर्यटन आगमनमा कमी, होटलहरुको कम अकुपेन्सी र सञ्चालन लागत बढ्नु रहेको छ । यसका साथै पछिल्लो समयको राजनीतिक घटना, लगानीकर्ताको अनिश्चितता तथा केही होटलहरु आंशिक रुपमा बन्द वा कम क्षमतामा सञ्चालनमा रहनु पनि आम्दानी घट्ने कारण बनेका छन् ।

कोभिड-१९ को महामारीपछिको रिकभरी अपेक्षा गरेअनुसार हुन नसक्दा पर्यटन क्षेत्र अझै दबाबमा छ । विदेशी पर्यटकको आगमन स्थिर नहुनु र आन्तरिक पर्यटन अपेक्षित रुपमा नबढ्नुले होटलहरुको आम्दानीमा प्रत्यक्ष असर पारेको छ ।

उपलब्ध तथ्यांक अनुसार कम्पनीहरुको कुल चुक्ता पुँजी करिब १२ अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुगेको छ । सबैभन्दा बढी चुक्ता पुँजी सिटी होटल लिमिटेडको रहेको छ । यसको पुँजी ३ अर्ब १ करोड रुपैयाँ रहेको छ ।

त्यसपछि बन्दीपुर केवलकारको पुँजी २ अर्ब ८३ करोड, तारागाउँ रिजेन्सी होटलको १ अर्ब ९६ करोड, चन्द्रागिरी हिल्सको १ अर्ब ६१ करोड, ओरियन्टल होटलको १ अर्ब १८ करोड रुपैयाँ, सोल्टी होटलको १ अर्ब १७ करोड र कालिन्चोक दर्शनको चुक्ता पुँजी ६३ करोड रुपैयाँ रहेकको छ ।

यता, होटल्सहरुको जगेडा कोषमा पनि ठूलो असन्तुलन देखिएको छ । ओरियन्टल होटलले २ अर्ब ७० करोड रुपैयाँ जगेडा राखेको छ । सोल्टी होटलले १ अर्ब ९६ करोड रुपैयाँ, तारागाउँले ९२ करोड ७९ लाख जगेडा कोषमा जम्मा गरेका छन् । यता, चन्द्रागिरी हिल्स र कालिन्चोकको जगेडामा क्रमशः ३१ लाख ६३ हजार र ५ करोड रुपैयाँ रहेको छ । तर बन्दीपुर केवलकार र सिटी होटल भने जगेडा कोष ऋणात्मक छन् ।

त्यस्तै, आम्दानी तर्फ सबैभन्दा राम्रो प्रदर्शन सोल्टी होटलले गरेको छ । यसले ९ महिनमा २ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको छ ।

त्यसपछि ओरेन्टल होटल लिमिटेडले ७३ करोड रुपैयाँ, चन्द्रागिरी हिल्सले ४५ करोड ५८ लाख रुपैयाँ, सिटी होटलले ३५ करोड ६७ लाख रुपैयाँ, कालिन्चोक दर्शनले ६ करोड ६५ लाख रुपैयाँ, तारागाउँ रिजेन्सी होटलले १७ करोड १९ लाख रुपैयाँ र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले १ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

सोल्टी होटलको प्रतिसेयर आम्दानी ४.६९ रुपैयाँ छ । यो कम्पनीको फेस भ्याल्यू १० रुपैयाँ हो । यसको प्रतिसेयर नेटवर्थ पनि २६.७३ रुपैयाँ छ । सबैभन्दा धेरै नेटवर्थ भएको कम्पनी ओरियन्टल होटल रहेको छ । यसको नेटवर्थ ३२८.१७ रुपैयाँ छ ।

 

Leave Your Comment

Related News