काठमाडौं । सर्वोच्च अदालतले ज्योति प्रकाश पाण्डेलाई गैरकानुनी रूपमा थुनामा राखिएको ठहर गर्दै उनलाई थुनामुक्त गर्न रिट जारी हुने फैसला सुनाएको छ ।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले मंगलबार पाण्डेको हकमा परेको बन्दीप्रत्यक्षीकरणको मुद्दामा उक्त आदेश दिएको हो ।
ज्योति प्रकाश पाण्डेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी निरु दाहालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकी थिइन् ।
इजलासले दुवै पक्षको बहस र उपलब्ध प्रमाणहरूको अध्ययन गरेपछि पाण्डेको थुनालाई कानुनसम्मत नदेखिएको निष्कर्ष निकाल्दै रिट जारी गर्ने फैसला गरेको हो । रिट जारी’ को अर्थ पाण्डेलाई तत्काल थुनामुक्त गर्न अदालतले सम्बन्धित निकायलाई आदेश दिएको बुझिन्छ ।
स्मार्ट टेलिकम प्रालिको सम्पत्ति व्यवस्थापनका क्रममा नेपाल सरकारको हक टुट्ने गरी ठगी र आपराधिक विश्वासघात गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाण्डेलाई पक्राउ गरेको थियो ।
स्मार्ट टेलिकमले अनुमति पत्र नवीकरण नगरेपछि सरकारको नियन्त्रणमा आएको सम्पत्ति लिलामी प्रक्रियामा पाण्डेले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तर्फबाट बदनियतपूर्वक काम गरेको प्रहरीको दाबी छ ।


