CLI

लघुवित्त संस्थाहरुको नाफामा ४३ प्रतिशतको सुधार, एउटा कम्पनी मात्र घाटामा, अन्य वित्तीय सूचक कस्ता छन् ?

काठमाडौं । सञ्चालनमा रहेका ५० वटा लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यी संस्थाहरुले ९ महिनामा समग्रमा ७ अर्ब २४ करोड रुपैयाँ भन्दा धेरै नाफा कमाएका छन् । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४३.१६ प्रतिशत धेरै हो ।

गत वर्ष यी संस्थाहरुले ५ अर्ब ६ करोड नाफा कमाएका थिए । खुद ब्याज आम्दानीमा वृद्धि, इम्पेयरमेन्ट चार्जमा आएको कमीका कारण पनि नाफामा केही सुधार देखिएको छ । विश्लेषकहरु कर्जा विस्तार, ब्याज आम्दानीमा सुधार र पुनरुत्थान भएको आर्थिक गतिविधिले गर्दा पनि नाफाका केही सुधार देखिएको बताउँछन् । यद्यपि केही ठूला संस्थामा देखिएको नाफा गिरावटले जोखिम व्यवस्थापनमा चुनौती रहेको संकेत गर्छ ।

सार्वजनिक भएको रिपोर्ट अनुसार सबैभन्दा धेरै नाफा कमाउनेमा छिमेक लघुवित्त रहेको छ । यसले ९ महिनामा ९० करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको चैतमा कम्पनीले ८५ करोड ३५ लाख नाफा आर्जन गरेको थियो । डिप्रोक्सले ६८ करोड १ लाख, जीवन विकासले ६२ करोड ६९ लाख, नेसनलले ५८ करोड ८६ लाख, साना किसानले ४८ करोड ३२ लाख, ग्रामीण विकासले ३० करोड १५ लाख नाफा कमाएको छ ।

यता, विजय लघुवित्तले भने खुद घाटा व्यहोरेको छ । यस कम्पनीले ९ महिना २ करोड ६७ लाख घाटा व्यहोरेको छ । १९ कम्पनीले १० करोड भन्दा धेरै नाफा कमाउन सफल भएका छन् ।

यता, ५० वटा कम्पनीको चुक्ता पुँजी ४० अर्ब ७६ करोड ८ लाख रुपैयाँ छ । जसमध्ये, साना किसानको चुक्ता पुँजी सबैभन्दा धेरै ४ अर्ब ९२ करोड रहेको छ । छिमेकको ३ अर्ब ६१ करोड, निर्धनको २ अर्ब ७४ करोड, डिप्रोक्सको २ अर्ब ५ करोड, जीवन विकासको १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी छ । १५ वटा संस्थाको पुँजी १ अर्ब भन्दा माथि छ ।

यता, जगेड कोषमा साना किसानको ५ अर्ब ८३ करोड रुपैयाँ भने छिमेकको ५ अर्ब १३ करोड रुपैयाँ रहेको सेयर स्क्रिनिङ सफ्वेयर स्मार्ट वेल्थले जनाएको छ । ५० वटा कम्पनीको प्रतिसेयर औसत आम्दानी २७.७२ रुपैयाँ छ । सबैभन्दा धेरै इपीएस आत्मनिर्भर लघुवित्तको ८२.४९ रुपैयाँ छ भने बुक भ्याल्यू पनि यसैको सबैभन्दा बढी छ ।

Leave Your Comment

Related News