CLI

हाइड्रोपावर कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी ४० अर्ब ७१ करोड, कुनले कति कमायो नाफा ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १०१ हाइड्रोपावर कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये अधिकांश कम्पनीको आम्दानी र नाफामा सुधार देखिए पनि केही कम्पनी अझै घाटामा रहेका छन् ।

वित्तीय विवरणअनुसार विद्युत बिक्रीबाट हुने आम्दानी बढेको तथा सञ्चालन क्षमता विस्तारका कारण धेरै कम्पनीको नाफा बढेको देखिएको हो । साथै, ब्याजदर घटेको कारणले कम्पनीहरुको वित्तीय खर्च घटेको छ । जसले गर्दा नाफामा सुधार आएको हो ।

हाइड्रोपावर कम्पनीहरुले समग्रमा ४० अर्ब ७१ करोड ४३ लाख रुपैयाँ बराबर विद्युत बिक्रीबाट आम्दानी गरेर ७ अर्ब ७० करोड नाफा कमाउन सफल भएका छन् ।

यता, १०१ वटा कम्पनीको चुक्ता पुँजी १ खर्ब ९३ अर्ब ६५ करोड रुपैयाँ पुगेको सेयर स्क्रिनिङ सफ्टवोयर स्मार्ट बेल्थ प्रोले जनाएको छ । यी कम्पनीहरुको जगेडा कोषमा समग्रमा ३ अर्ब ३२ करोड रुपैयाँ छ । अपर तामाकोशीको जगेडा ११ अर्ब भन्दा धेरैले ऋणात्मक छ । यो एउटा कम्पनीले गर्दा पनि समग्रमा हाइड्रोपावरहरुको जगेडा कम देखिएको हो ।

चुक्ता पुँजी, जगेडा कोष, नाफा र आम्दानी 

चुक्ता पुँजीतर्फ अपर तामाकोशी हाइड्रोपावर सबैभन्दा अगाडि रहेको छ । कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँभन्दा बढी पुगेको छ । त्यसपछि सोलु हाइड्रोपावरको १० अर्ब रुपैयाँ तथा चिलिमे हाइड्रोपावरको ९ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

जगेडा कोष भने बुटवल पावरको सबैभन्दा बलियो देखिएको छ । कम्पनीको जगेडा तथा कोषमा ३ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । साहस ऊर्जाको ३ अर्ब ५१ करोड रुपैयाँ र सोलु हाइड्रोपावरको ३ अर्ब ५४ करोड रुपैयाँ जगेडा रहेको छ । यता, अपर तामाकोशीको जगेडा कोष भने ११ अर्ब २९ करोड रुपैयाँ ऋणात्मक छ ।

यता, आम्दानी गर्नेमा पनि अपर तामाकोशी नै शीर्ष स्थानमा रहेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म ७ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको विद्युत बिक्रीबाट आम्दानी गरेको छ । साहस ऊर्जाले २ अर्ब ३३ करोड रुपैयाँ तथा सोलु हाइड्रोपावरले २ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेका छ ।

खुद नाफा आर्जन गर्नेमा साहस ऊर्जा सबैभन्दा अगाडि देखिएको छ । कम्पनीले ९ महिनामा १ अर्ब १८ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । त्यसपछि सोलु हाइड्रोपावरले ८५ करोड ८१ लाख रुपैयाँ, अपि पावरले ६५ करोड ८५ लाख रुपैयाँ, ग्रीन भेन्चरले ४९ कोरड ४४ लाख नाफा कमाएको छ । माउन्टेन इनर्जीले ५२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ ।

यता, सबैभन्दा बढी घाटामा व्यहोर्नेमा रसुवागढी हाइड्रोपावर रहेको छ । कम्पनीले १ अर्ब २३ करोड रुपैयाँभन्दा बढी घाटा व्यहोरेको छ । प्रतिसेयर आम्दानी (इपीएस) तर्फ साहस ऊर्जा सबैभन्दा अगाडि रहेको छ । कम्पनीको इपीएस ३४ रुपैयाँ ४८ पैसा पुगेको छ ।

बुक भ्यालु (बीभीपीएस) मा बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको बीभीपीएस २१० रुपैयाँ ३३ पैसा रहेको छ । साहस ऊर्जा १७६ रुपैयाँ ७४ पैसा तथा राधी विद्युत १७६ रुपैयाँ २६ पैसासहित अगाडि देखिएका छन् ।

Leave Your Comment

Related News