काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको निक्षेप फिर्तालाई प्रथमिकतामा राखेको छ । समस्याग्रस्त सहकारीमा स–साना रकम निक्षेप गरेका बचतकर्ता अधिकांश रहेकाले उनीहरूको रकम फिर्ताको विषयलाई बढी महत्त्व दिइएको हो ।
पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले समस्याग्रस्त सहकारीमा १० हजार रुपैयाँभन्दा कम भएका बचतकर्तालाई रकम फिर्ता गर्न सुरू गरिएको बताउँदै यस कार्यलाई निरन्तरता दिइने र क्रमिक रूपमा ठूला बचतकर्ताको निक्षेप पनि फिर्ता गरिने जानकारी दिए ।
निक्षेपकर्ताको बचत फिर्ताका लागि समस्याग्रस्त सहकारीहरूको ऋण असुली गर्ने कामसमेत भइरहेको जनाइएको छ । करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ समस्यामा छ । सहकारीपीडितको रकम फिर्ता गर्ने उद्देश्यले चक्रीय कोष सञ्चालनको कार्यविधि तयार पारेको मन्त्रालयले स्रोत व्यवस्थापन लागि अर्थ मन्त्रालयलाई आग्रह गरेको छ ।
त्यसैगरी, मन्त्रालयले सोमबारदेखि सहकारी व्यवस्थापन समितिमार्फत ३७८ जना सहकारी सदस्यका साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । कान्तिपुर सहकारीका २१५, शिवशिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारी सात जना साना बचतकर्ताको निक्षेप फिर्ता गरेको हो । बैंक भेरीफाइ भएका बचतकर्ताको रकम फर्काइएको मन्त्रालयले जनाएको छ



