काठमाडौं । सरकारले चालु आर्थिक वर्षभित्रै नयाँ ठेक्का प्रक्रिया अघि बढाउने गरी राष्ट्रिय गौरव तथा रणनीतिक महत्त्वका सडक र सिँचाइ आयोजनालाई अर्बौं रुपैयाँ बराबरको स्रोत सहमति दिएको छ । लामो समयदेखि निर्माणाधीन रहेर पनि काम सुस्त रहेका आयोजनालाई गति दिन अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेपछि सम्बन्धित निकायले असारभित्र ठेक्का प्रक्रिया टुंग्याउने तयारी गरेका छन् ।
सडक विभागका अनुसार राष्ट्रिय गौरवको हुलाकी राजमार्गका लागि चालु वर्षमा २९ अर्ब ७ करोड १९ लाख रुपैयाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ । हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुवेर नेपालीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाहेक अधिकांश खण्डमा नयाँ ठेक्का प्रक्रिया अघि बढाइनेछ ।
उनले चितवन खण्डमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेपछि मात्र ठेक्का लाग्ने बताए । समग्र आयोजनाको काम २०८७ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।
उक्त बजेटअन्तर्गत चालु आर्थिक वर्षमै ६९ वटा पुल, १० कल्भर्ट तथा ७ सडक खण्डमा करिब १ सय ५० किलोमिटर सडक निर्माण तथा कालोपत्रका लागि ठेक्का गरिनेछ ।
सरकारले विभिन्न उत्तर–दक्षिण करिडोरका आयोजनामा पनि ठूलो रकमको स्रोत सहमति दिएको छ । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्डका लागि ३ अर्ब १५ करोड रुपैयाँ तथा पाँच पुल निर्माणका लागि थप ९६ करोड ८० लाख रुपैयाँ सुनिश्चित गरिएको छ ।
महाकाली करिडोरअन्तर्गत टिमुरपाटा–हुती–धौलाकोट सडक खण्डको ६.२ किलोमिटर सडक निर्माणका लागि ५१ करोड ९९ लाख रुपैयाँको स्रोत सहमति दिइएको छ ।
कर्णाली करिडोरअन्तर्गत खुलालु–कोट, भुक्काखोला–पिलुचौर र तुम्च–सल्लिसल्ला खण्डका लागि ३ अर्ब १५ करोड १६ लाख रुपैयाँ बराबरको नयाँ ठेक्का गर्न सहमति दिइएको छ । खुलालु–सल्लिसल्ला सडक योजनाअन्तर्गत ६ वटा पुल निर्माणका लागि ६२ करोड ४३ लाख रुपैयाँ सुनिश्चित गरिएको छ ।
यस्तै, कर्णाली करिडोरकै उत्तर खण्ड हिल्सा–सिमकोट सडक योजनाअन्तर्गत खार्पुनाथ–खरिखेत तथा खरिखेत–सल्लिसल्ला खण्डका लागि २ अर्ब ३३ करोड ७३ लाख रुपैयाँको स्रोत सुनिश्चित भएपछि ठेक्का प्रक्रिया अघि बढाइएको छ ।
कोशी करिडोरअन्तर्गत १० वटा पुल निर्माणका लागि ६९ करोड ४९ लाख रुपैयाँ छुट्याइएको छ । खाँदबारी–किमाथांका दोभान–बरुण सडक खण्डका लागि २ अर्ब ४३ करोड ४ लाख तथा किमाथांका–घोङघोप्पा खण्डका लागि १ अर्ब ५९ करोड १३ लाख रुपैयाँको स्रोत सहमति दिइएको छ ।
तमोर करिडोरअन्तर्गत चतरा–मूलघाट–सुवाङखोलासम्म सडक निर्माण तथा स्तरोन्नतिका लागि १ अर्ब २० करोड रुपैयाँ तथा सुवाङखोला–दोभान–ओलाङचुङगोला खण्डका लागि ५२ करोड रुपैयाँको स्रोत सहमति प्राप्त भएको छ ।
उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयका आयोजना निर्देशक धर्मेन्द्रकुमार झाले स्रोत सहमति पाएपछि कर्णाली करिडोरको खुलालु–सल्लिसल्ला खण्डमा कालोपत्र, स्तरोन्नति तथा पुल निर्माणका लागि नयाँ ठेक्का प्रक्रिया सुरु गरिने बताए । उनका अनुसार सडक आयोजनालाई वर्षभर सञ्चालन गर्न मिल्ने गरी स्तरोन्नतिको काम अघि बढाइनेछ ।
मदन भण्डारी राजमार्गअन्तर्गतका विभिन्न सडक खण्डले पनि स्रोत सहमति पाएका छन् । गुल्मीको रिडी–भेडुवा–तम्घास खण्डका लागि १ अर्ब ४१ करोड रुपैयाँ, रिडी–बलकोट–हंसपुर–प्यूठान–सुर्खेत खण्डका लागि २ अर्ब १६ करोड ६५ लाख रुपैयाँ तथा बड्डीचौर–गुटु–कर्णाली सडक खण्डका लागि २ अर्ब २५ करोड ९२ लाख रुपैयाँ बराबरको स्रोत सहमति दिइएको छ ।
उक्त सडक खण्डअन्तर्गत ६ वटा पुल निर्माणका लागि समेत ठेक्का प्रक्रिया अघि बढाइने सडक विभागले जनाएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका निर्देशक दीप बाराहीले असारभित्र ठेक्का प्रक्रिया टुंग्याउनुपर्ने, अन्यथा स्रोत सहमति निष्क्रिय हुने बताए ।
यस्तै, पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत ८ वटा पक्की पुल निर्माणका लागि १ अर्ब १० करोड रुपैयाँको स्रोत सहमति उपलब्ध भएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत बर्दिबास रेलवे स्टेसनमा ट्र्याकबेड निर्माणका लागि १ अर्ब ५० करोड ५२ लाख रुपैयाँ सुनिश्चित गरिएको छ ।
सिँचाइतर्फ पनि राष्ट्रिय गौरवका आयोजनाले ठूलो परिमाणमा स्रोत सहमति पाएका छन् । जलस्रोत तथा सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियर प्रेमहरी पराजुलीका अनुसार धेरै आयोजनाको लागत अनुमान तयार भइसके पनि स्रोत सहमति नपाउँदा ठेक्का रोकिएको थियो ।
उनले असारभित्र ठेक्का नलगाए स्रोत सहमति निष्क्रिय हुने प्रावधान रहेकाले अधिकांश आयोजनाले प्रक्रिया तीव्र बनाएको बताए ।
विभागका अनुसार बबई सिँचाइ आयोजनाका लागि ४ अर्ब ७ करोड रुपैयाँ, सिक्टा सिँचाइ आयोजनाका लागि ५ अर्ब २३ करोड रुपैयाँ, महाकाली सिँचाइ तेस्रो चरणका लागि ३ अर्ब ३१ करोड रुपैयाँ तथा रानी जमरा कुलरिया सिँचाइ आयोजनाका लागि १ अर्ब ४६ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ ।


