काठमाडौं । १० वर्षमा सेयर कारोबार गर्ने लगानीकर्ताले सरकारलाई ६२ अर्ब रुपैयाँ भन्दा धेरै पुँजीगत लाभ कर तिरेका छन् । लगानीकर्ताले २०७३-७४ देखि चालु आवको १० महिनासम्म ६२ अर्ब १७ करोड ५६ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
यसबीच लगानीकर्ताले २०७७-७८ मा राज्यलाई १४ अर्ब १३ करोड र २०७८-७९ मा १० अर्ब ३५ करोड रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । त्यस्तै, २०८१-८२ मा लगानीकर्ताले १६ अर्ब ५४ करोड कर बुझाएका हुन् ।
यी वर्षहरुमा सेयर बजारमा राम्रो वृद्धि देखिएको थियो । साथै, कारोबार रकम पन बढेको छ । त्यसैले नाफामा धितोपत्र बिक्री गर्नेहरुले थुप्रै रकम सरकारलाई पुँजीगत लाभ स्वरुप बुझाएका छन् । साथै, २०७४-७५ मा ५० करोड ७६ लाख, २०७५-७६ मा ६१ करोड २ लाख, २०७६-७७ मा ९८ करोड ५२ लाख, २०७९-८० मा २ अर्ब ९७ करोड, २०८०-८१ मा ५ अर्ब ५० करोड रुपैयाँ बराबरको पुँजीगत लाभकर तिरेका छन् ।
बजार बढेको समयमा सरकारले लगानीकर्ताबाट ठूलो रकम करका रुपमा उठायो, तर अहिले बजार निरन्तर घटिरहेका कारण लगानीकर्ता नै घाटामा परेका छन् । बजार निरन्तर ओरालो लागेपछि करको स्रोत पनि कमजोर बन्दै गएको देखिन्छ । किनकि पुँजीगत लाभकर नाफामा मात्र लाग्ने कर हो । लगानीकर्ताले नाफा नै नगरेपछि कर तिर्ने अवस्था रहँदैन ।
विश्लेषकहरुका अनुसार सरकारले बजार बढेका बेला मात्रै कर संकलनमा ध्यान दिने तर बजार घट्दा लगानीकर्ताको मनोबल जोगाउने नीति नल्याउने हो भने दीर्घकालमा पुँजी बजार कमजोर हुन सक्छ । लगानीकर्ता निराश बन्दै गए बजारमा कारोबार घट्ने, नयाँ लगानी रोकिने र त्यसको प्रत्यक्ष असर सरकारी राजस्वमा पर्ने उनीहरुको भनाइ छ ।
सेयर बजारका जानकारहरुका अनुसार राज्यले केवल कर उठाउने दृष्टिकोणभन्दा पनि बजारलाई दीगो बनाउने नीति ल्याउन आवश्यक छ । लगानीकर्ताको विश्वास जोगाउने, नीतिगत स्थिरता कायम गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारमा दीर्घकालीन लगानी प्रोत्साहन गर्ने कदम चालिए मात्र सेयर बजार बलियो बन्न सक्छ । बलियो बजार भए मात्र लगानीकर्ता कमाउँछन्, र लगानीकर्ताले कमाएपछि मात्रै राज्यले पनि स्थायी रुपमा कर प्राप्त गर्न सक्छ।
यता, चालु आर्थिक वर्षको १० महिना लगानीकर्ताले ९ अर्ब ११ करोड २९ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् । चालु आवको साउन महिनामा लगानीकर्ताले २ अर्ब १५ करोड ७५ लाख, भदौमा ६० करोड १४ लाख, असोजमा २४ करोड ३६ लाख, कात्तिकमा ३८ करोड ५ लाख, मंसिरमा ६२ करोड ९८ लाख, पुसमा ५८ करोड ४३ लाख, माघमा १ अर्ब २९ करोड १९ लाख, फागुनमा ५५ करोड १५ लाख, चैतमा १ अर्ब ७३ करोड ५७ लाख र वैशाखमा लगानीकर्ताले ९३ करोड ६१ लाख कर बुझाएका छन् ।



