झापा । पूर्वी नेपालको मुख्य प्रवेशद्वार काँकडभिट्टास्थित देवकोटा पार्कमा पर्यटकीय आकर्षण थप्न ‘घण्टाघर’ को निर्माण सुरु गरिएको छ । रोटरी क्लब अफ काँकडभिट्टाको पहल, कोशी प्रदेश सरकार र भारतको पश्चिम बङ्गालस्थित रोटरी क्लब अफ सिलिगुडी उत्तरायणको आर्थिक साझेदारीमा यो परियोजना अघि बढाइएको हो।
उपभोक्ता समितिमार्फत एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको घण्टाघरको नाम ‘रोटरी क्लब टावर’ राखिने सहमति भएको छ। निर्माण उपभोक्ता समितिका अध्यक्ष एवं रोटरी क्लब अफ काँकडभिट्टाका अध्यक्ष उदय श्रेष्ठका अनुसार यो घण्टाघर जमिनको सतहबाट ४० फिटभन्दा अग्लो हुनेछ । घण्टाघर निर्माणको कूल लागत करिब रु ३५ लाख अनुमान गरिएको उनले जानकारी दिए।
“नेपालको पूर्वी ढोकामा पर्यटकीय आकर्षण बढाउन यो घण्टाघर कोसेढुङ्गा सावित हुने हाम्रो अपेक्षा छ”, उपप्रमुख उप्रेतीले भनिन्, “भारतीय रोटरी क्लबको समेत सहलगानी रहेकाले यसले नेपाल-भारतबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पुर्याउनेछ ।”
सतहबाट १८ वर्गफिट आकारमा निर्माण हुने यस घण्टाघरको पहिलो तलामा चढेर पर्यटकले दृश्यावलोकनका साथै सेल्फी र भिडियो खिच्न सक्ने गरी आधुनिक र सुविधा सम्पन्न संरचना बनाइने अध्यक्ष श्रेष्ठले बताए।
काँकडभिट्टाको मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको देवकोटा पार्कमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको सालिक, रमणीय फूलबारी, बाल उद्यान, खानेपानी तथा शौचालयको सुविधा उपलब्ध छ।
देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापाले अब बन्ने घण्टाघरले पार्कको आकर्षण थप बढाउने र सीमावर्ती क्षेत्र भएकाले भारतीय लगायत अन्य विदेशी पर्यटकको आगमनमा समेत वृद्धि हुने विश्वास व्यक्त गरे।


