काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनेईले उच्च स्तरको समृद्ध युरेनियम विदेश नपठाउन निर्देशन दिएका छन्। यससँगै अमेरिका–इरान शान्ति वार्ता थप जटिल बन्ने संकेत देखिएको छ।
रोयटर्सका अनुसार दुई वरिष्ठ इरानी स्रोतले खामेनेईले इरानको हतियार-स्तर नजिकको समृद्ध युरेनियम देशभित्रै राख्न आदेश दिएको बताएका हुन्। अमेरिकाले भने शान्ति सम्झौताका लागि उक्त युरेनियम इरान बाहिर पठाउनुपर्ने अडान राख्दै आएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानलाई उच्च समृद्ध युरेनियम राख्न नदिने स्पष्ट पारेका थिए । उनले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै “हामी त्यसलाई नियन्त्रणमा लिन्छौं, उनीहरूलाई राख्न दिँदैनौं,” बताएका थिए।
इजरायली अधिकारीहरूले ट्रम्पले इजरायललाई इरानको युरेनियम भण्डार विदेश पठाइने आश्वासन दिएको दाबी गरेका छन्। इजरायलले युरेनियम हटाइएपछि मात्रै युद्ध अन्त्य भएको मानिने बताउँदै आएको छ।
इरानले भने आफू आणविक हतियार निर्माणको पक्षमा नरहेको दोहोर्याएको छ। तर पश्चिमी राष्ट्रहरूले इरानले ६० प्रतिशतसम्म युरेनियम समृद्ध बनाएको विषयलाई लिएर शंका व्यक्त गर्दै आएका छन्। आणविक हतियारका लागि करिब ९० प्रतिशतसम्म समृद्ध युरेनियम आवश्यक पर्ने बताइन्छ।
इरानी स्रोतहरूका अनुसार तेहरानले युरेनियम विदेश पठाउँदा भविष्यमा अमेरिका वा इजरायलबाट हुने सम्भावित आक्रमणप्रति देश कमजोर बन्ने ठानेको छ।
यसबीच युद्धविराम कायम रहे पनि अमेरिका–इरान तनाव कम भएको छैन। फेब्रुअरीमा सुरु भएको अमेरिका–इजरायल आक्रमणपछि क्षेत्रीय तनाव चर्किएको थियो ।
इरानका वार्ताकार मोहम्मद बाकर कालीबाफले अमेरिकाले पुनः आक्रमणको तयारी गरिरहेको संकेत देखिएको बताएका छन्। ट्रम्पले पनि इरानले सम्झौता नगरे थप सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन्।
यद्यपि इरानी स्रोतहरूले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को निगरानीमा युरेनियम कमजोर पार्ने जस्ता विकल्पमा छलफल हुन सक्ने बताएका छन्।
आईएईएका अनुसार २०२५ मा अमेरिका र इजरायलले इरानी आणविक केन्द्रमा आक्रमण गर्दा इरानसँग ४४०.९ किलोग्राम ६० प्रतिशत समृद्ध युरेनियम थियो। त्यसको कति हिस्सा बाँकी छ भन्ने अझै स्पष्ट छैन।


