कैलाली । जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ । गाउँपालिकाभित्र सार्वजनिक जग्गा नहुँदा जग्गा प्राप्तिमा समय लागेपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि एक दशक कुर्नु परेको हो । एक बिघा १०कट्ठा जमिन इँट्टा व्यवसायी तेजप्रताप राणाले गाउँपालिकालाई दान गरेपछि प्रशासनिक भवनको काम सुरु भएको गाउँपालिकाका इन्जिनियर योगेन्द्र शाहीले जानकारी दिए ।
रु बाह्र करोड आठ लाख २७ हजार ९३८ को लागतमा अढाई तलाको प्रशासनिक भवनको कामत्रिवेणी, लाफा, शुभलक्ष्मी जेभीले गरिरहेको इन्जिनियर शाहीको भनाइ छ । उनका अनुसार २०८२ असार २२ गते भवन निर्माणका लागि भएको सम्झौताअनुसार २०८४ असार २० गते सम्पन्न गरिसक्नुपर्नेछ । “जग्गा नभएका कारण भवन निर्माणमा ढिलाइ भएको हो,” इन्जिनियर शाही भन्छन्, “अर्को वर्षबाट गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिन्छ ।”
निर्माण कम्पनीका इन्जिनियर मनिषकुमार शाहले हालसम्म २५ प्रतिशतमाथि काम भएको बताए । उहाँले भवन निर्माण स्थलमा डुबानको समस्या हुने हुँदा बर्सातको समयमा काम गर्न कठिन हुने गरेको बताए । “जगको काम सम्पन्न भएको छ । यो असारसम्म पहिलो तलाको काम सम्पन्न गर्ने लक्ष्य छ,” उनी भन्छन् “काम गर्दै जाँदा समस्या नआए समयमै भवन सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गर्छौं ।”
गाउँपालिकाले वडा नं १ को प्रशासनिक भवनबाट हाल सेवा प्रवाह गर्दै आएको छ । केही शाखा अहिले पनि भाडाको घरमा सञ्चालनमा छन् । वडा नं १ को सेवा प्रवाह साबिकको दुर्गौली गाविसको भवनबाट भइरहेको छ । गाउँपालिकामा सार्वजनिक जग्गाको समस्याका कारण वडा नं ५ र वडा नं ६ को प्रशासनिक भवन पनि निर्माण हुन सकेको छैन । दुवै वडा कार्यालय भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् ।


