CLI

इरान–अमेरिका युद्धविराम नजिक, सम्झौताको अन्तिम चरणमा वार्ता

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता  धेरै हदसम्म तय भइसकेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत अमेरिका, इरान र क्षेत्रीय शक्तिहरुबीच युद्ध अन्त्य तथा तनाव कम गर्ने दिशामा महत्त्वपूर्ण प्रगति भएको जनाएका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पका अनुसार साउदी अरेबिया, कतार, पाकिस्तान, टर्की, इजिप्ट, युएई र जोर्डनका नेतासँग भएको छलफलपछि वार्ताले सकारात्मक मोड लिएको हो । इरान र पाकिस्तानले संयुक्त रुपमा युद्ध अन्त्य तथा होर्मुज जलडमरुमध्य पुनः सञ्चालनसम्बन्धी संशोधित प्रस्ताव अमेरिकालाई पठाइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले पछिल्लो एक सातामा अमेरिका र इरानको धारणा “धेरै नजिक” आएको बताएका छन् । उनले वार्ताको मुख्य उद्देश्य युद्ध अन्त्य गर्नु रहेको उल्लेख गर्दै लेबनानमाथिको आक्रमण पनि सम्झौतामा समावेश हुनुपर्ने इरानको अडान रहेको बताए ।

यता होर्मुज जलडमरुमध्यको नियन्त्रण सम्झौताको सबैभन्दा संवेदनशील विषय बनेको छ । ट्रम्पले जलमार्ग पुनः खुल्ने बताएका भए पनि इराननिकट समाचार संस्था फार्सले भने जलडमरुमध्यको व्यवस्थापन इरानकै नियन्त्रणमा रहने दाबी गरेको छ । इरानले जहाज आवतजावत, अनुमति र सुरक्षा निरीक्षणमा आफ्नो अधिकार कायम राख्ने संकेत दिएको छ ।

यसैबीच, इजरायलका पूर्व रक्षा मन्त्री एभिग्डोर लिबरम्यानले सम्भावित सम्झौताप्रति असन्तुष्टि जनाउँदै त्यसलाई “विपत्ति” को संज्ञा दिएका छन् । अमेरिकी रिपब्लिकन नेताहरुले पनि इरानसँगको सम्झौताप्रति आलोचना गरेका छन् ।

पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निभाइरहेको अवस्थामा उसका सेना प्रमुख आसिम मुनिरले तेहरानमा उच्चस्तरीय भेटवार्ता गरेका थिए । पाकिस्तान र चीनले वार्तालाई अगाडि बढाउन सक्रिय कूटनीतिक पहल गरिरहेको बताइएको छ ।

Leave Your Comment

Related News