CLI

राजस्थान प्लेअफमा, बाहिरिए पन्जाब र कोलकाता

काठमाडौं । मुम्बई इन्डियन्सविरुद्ध ३० रनको जित निकाल्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को प्लेअफमा स्थान पक्का गरेको छ । राजस्थानको यो जितसँगै पन्जाब किंग्स र कोलकाता नाइट्स राइडर्सको प्लेअफ सम्भावना समाप्त भएको छ ।

आइतबार वानखेडे रंगशालामा राजस्थानले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाउँदै १७५ रन बनायो । सूर्यकुमार यादवले ६० रनको इनिङ खेले पनि त्यो मुम्बईलाई जित दिलाउन पर्याप्त बन्न सकेन । उनले ४२ बलमा चार छक्का र तीन चौका प्रहार गरे । कप्तान हार्दिक पाण्डेयाले ३४, विल ज्याक्सले ३३, रायन रिकेल्टनले १२ र शार्दुल ठाकुरले अविजित १० रन बनाए ।

पाँचौँ विकेटका लागि सूर्यकुमार र विलले ६३ रनको साझेदारी गरेका थिए । राजस्थानका जोफ्रा आर्चरले तीन विकेट लिए । नान्द्रे बर्गर, व्रिजेश शर्मा र यशराज पुञ्जाले समान दुई विकेट हात पारे । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २०५ रनको योगफल खडा गरेको थियो ।

राजस्थानका धुव्र जुरेलले ३८, जोफ्रा आर्चरले ३२, दासुन सनकाले २९ र यशस्वी जैसवालले २७ रन बनाए । रविन्द्र जडेजाले अविजित १९, डोनोभान फरेराले १८, कप्तान रियान परागले १४ र नान्द्रे बर्गरले अविजित १० रन जोडे ।

चौथो विकेटका निम्ति धुव्र र दासुनबीच ४५ रनको साझेदारी भएको थियो । मुम्बईका दीपक चहर र शार्दुल ठाकुरले समान दुई विकेट लिए । विल ज्याक्स, एएम घनजफर र कोर्बिन बोशको नाममा समान एक विकेट रह्यो ।

जितसँगै १४ खेलमा १४ अंक जोडेको राजस्थान चौथो स्थानमा रह्यो । पराजित मुम्बईले समान खेलबाट आठ अंकका साथ नवौं स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।

यससँगै प्रतियोगिताको प्लेअफमा पुग्ने चारै टोलीको टुंगो लागेको छ । रोयल च्यालेन्जर्स बेङ्लुरु, गुजरात टाइटन्स र सनराइजर्स हैदराबादले यसअघि नै प्लेअफको यात्रा तय गरिसकेका थिए । अब पहिलो क्वालिफायरमा बेङ्लुरु र गुजरात भिड्नेछन् । राजस्थानले एलिमिनेटरमा हैदराबादको सामना गर्नेछ ।

Leave Your Comment

Related News