CLI

इरानसँगको सम्झौतामा अझै समय लाग्ने संकेत, अमेरिकाद्वारा नयाँ सैन्य आक्रमण

काठमाडौं । अमेरिका र इरानबीच जारी तनावका बीच नयाँ कूटनीतिक प्रयास सुरु भए पनि तत्काल सम्झौता हुने सम्भावना कम देखिएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको सम्भावित सम्झौतामा अझै केही दिन लाग्न सक्ने बताएका छन् । रोयटर्सका उनले वार्ता जारी रहे पनि परिस्थिति जटिल रहेको संकेत गरेका हुन् ।

यो अभिव्यक्ति अमेरिकाले दक्षिणी इरानमा नयाँ सैन्य आक्रमण गरेको एक दिनपछि आएको हो । अमेरिकी सेनाले इरानी फौजबाट उत्पन्न खतरालाई रोक्न रक्षात्मक कारबाही गरिएको जनाएको छ । आक्रमणका क्रममा समुद्री सुरुङ बिछ्याउन खोजिरहेका डुंगा तथा मिसाइल प्रक्षेपण स्थलहरुलाई निशाना बनाइएको अमेरिकी पक्षको दाबी छ ।

अमेरिकाले विशेष रुपमा होर्मुज जलडमरु खुला राख्नुपर्नेमा जोड दिएको छ । विश्वको ठूलो परिमाणमा तेल तथा प्राकृतिक ग्यास यही समुद्री मार्ग हुँदै ओसारपसार हुने भएकाले यसको सुरक्षा अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ । रुबियोले जलडमरु जसरी भए पनि सञ्चालनमा रहने बताएका छन् ।

यसैबीच इरानले नयाँ हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेर एउटा स्टेल्थ ड्रोन खसालेको दाबी गरेको छ । यद्यपि उक्त ड्रोन कुन देशको थियो भन्ने स्पष्ट गरिएको छैन ।

तनाव बढिरहेका बेला इरानका वरिष्ठ अधिकारीहरु कतारको दोहामा वार्ताका लागि पुगेका छन् । त्यहाँ अमेरिकी पक्षसँग सम्भावित सम्झौता, होर्मुज जलडमरुको अवस्था, उच्च स्तरमा प्रशोधित युरेनियमको भण्डारण तथा इरानका रोक्का सम्पत्ति फुकुवाबारे छलफल भइरहेको जनाइएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले आणविक विषयमा विस्तृत छलफल प्रारम्भिक सहमति भएपछि मात्रै अघि बढ्ने बताएका छन् । इरानले आफूले आणविक हतियार निर्माण गर्ने योजना नरहेको दाबी गर्दै आएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानलाई आणविक हतियार विकास गर्न नदिने आफ्नो मुख्य उद्देश्य रहेको बताउँदै आएको छ ।

यसबीच मध्यपूर्वमा तनाव थप बढ्ने संकेत देखिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानस्थित इरान समर्थित हेजबोल्लाहविरुद्ध आक्रमण तीव्र बनाइने बताएका छन् । त्यसलगत्तै इजरायली सेनाले लेबनानका विभिन्न क्षेत्रमा हेजबोल्लाहका संरचनामाथि आक्रमण गरेको जनाएको थियो ।

Leave Your Comment

Related News