CLI

नवनियुक्त गैरआवासीय राजदूतको सम्मानमा स्वागत समारोह

काठमाडौं । एम्बासडर्स क्लब नेपालले नेपालका लागि नवनियुक्त गैरआवासीय राजदूतहरूको सम्मानमा काठमाडौंको विशालनगरस्थित क्लबको कार्यालयमा विशेष स्वागत समारोह आयोजना गरेको छ।

एम्बासडर्स क्लब नेपाल, इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) तथा द डिप्लोम्याट नेपाल पत्रिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेपालका लागि अस्ट्रियाका नवनियुक्त गैरआवासीय राजदूत डा. रोबर्ट जिस्ग र लक्जेम्बर्गका गैरआवासीय राजदूत क्रिश्चियन बिभेर तथा उनकी पत्नी क्यारोल हेकरलाई स्वागत गरिएको थियो।

क्लबकी अध्यक्ष तथा पूर्व राजदूत डा. शर्मिला पराजुली ढकाल र सह–संस्थापक विमल ढकालले अतिथिहरूलाई स्वागत गरेका थिए । 

समारोहलाई सम्बोधन गर्दै डा. शर्मिला पराजुली ढकालले कूटनीति केवल औपचारिकता र प्रोटोकलमा सीमित नभई विश्वास, सम्बन्ध र साझा आकांक्षामार्फत जीवित रहने प्रक्रिया भएको बताइन् । अध्यक्ष डा. ढकालले स्पेन र ओमानमा राजदूत रहेर काम गरिसकेको अनुभव छ । 

 डा. ढकालले सम्बोधनमा कूटनीतिज्ञहरू आफ्ना राष्ट्रका प्रतिनिधि मात्र नभई संवाद,समझदारी र सहकार्यका संवाहकसमेत भएको उल्लेख गरिन् । कार्यक्रममा नेपाल सरकारको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी, विभिन्न देशका राजदूत तथा अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै डा. ढकालले नेपाल र अस्ट्रियाबीचको सम्बन्धलाई पर्वतीय राष्ट्रहरूको साझा पहिचान, सहनशीलता, बहुपक्षीय प्रतिबद्धता तथा हिमाली समुदायको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने साझा जिम्मेवारीसँग जोडिन् ।

उनले नेपाल–लक्जेम्बर्ग सम्बन्ध पनि दिगोपन, आपसी सम्मान र सहयोगका आधारमा निरन्तर सुदृढ बन्दै गएको बताइन् । यस अवसरमा उनले हालै परराष्ट मामिला अध्ययन प्रतिष्ठान नेपालको कार्यकारी निर्देशक नियुक्त भएकी रोजिना ताम्राकारलाई बधाई दिँदै ओमानस्थित नेपाली दूतावासमा कार्यवाहक राजदूतका रूपमा उनले गरेको सेवाको प्रशंसा गरिन् ।

ताम्राकारको नेतृत्वले नेपालको कूटनीतिक अध्ययन र संस्थागत क्षमतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिन् ।

डा. ढकालले गत मे १८ मा एम्बासडर्स क्लब नेपाल, आईआरजीडीडी र द डिप्लोम्याट नेपाल को पहिलो वार्षिकोत्सव सम्पन्न भएको स्मरण गर्दै कूटनीतिक समुदायबाट प्राप्त शुभेच्छाप्रति आभार व्यक्त गरिन् ।

सो अवसरमा उनले नवनियुक्त गैरआवासीय राजदूतहरू तथा उनीहरूका जीवनसाथीलाई एम्बासडर्स क्लब नेपालको ‘मानार्थ सदस्यता’ प्रदान गर्दै नेपालसँगको मित्रता र संवादलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिन् ।

लक्जेम्बर्गका राजदूत क्रिश्चियन बिभेरले कार्यक्रम आयोजना गरेकोमा डा. शर्मिला पराजुली ढकाल र बिमल ढकालप्रति आभार व्यक्त गर्दै नेपालमा मान्यता प्राप्त गर्न पाएकोमा गर्व महसुस भएको बताए । उनले नेपाललाई अद्भुत देशको संज्ञा दिँदै आफू र उनकी पत्नीले कार्यक्रममा पाएको आत्मीय आतिथ्यको प्रशंसा गरे ।

त्यसैगरी, अस्ट्रियाका राजदूत डा. रोबर्ट जिस्गले अस्ट्रिया, लक्जेम्बर्ग र नेपालबीचका समानताहरू उल्लेख गर्दै तीनै देश भूपरिवेष्ठित तथा पर्वतीय राष्ट्र भएको बताए । उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटलाई सम्मानको विषय भएको उल्लेख गर्दै काठमाडौं उपत्यका, हिमाल र प्राकृतिक सौन्दर्य अवलोकन गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।

समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत अबरार हुसेन हाश्मीलाई बिदाइका अवसरमा सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो। डा. ढकालले नेपाल–पाकिस्तान सम्बन्ध सुदृढीकरणमा उनले पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनको सफल कार्यकालको सराहना गरिन् ।

कार्यक्रममा विभिन्न देशका राजदूत, नेपाल सरकारका उच्च अधिकारी, पूर्व राजदूत, मानार्थ वाणिज्यदूत, सार्कका महासचिव, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि तथा कूटनीतिक समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

साँझको कार्यक्रम नेपाली सांगीतिक समूह ‘सुरसुधा’को सांस्कृतिक प्रस्तुतिसहित नेटवर्किङ सत्रमा सम्पन्न भएको थियो। एम्बासडर्स क्लब नेपाल नेपालका लागि मान्यता प्राप्त आवासीय तथा गैरआवासीय राजदूत, नियोग प्रमुख र कूटनीतिज्ञहरूबीच संवाद, सहकार्य र मैत्रीपूर्ण सम्बन्ध प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा स्थापित संस्था हो ।

Leave Your Comment

Related News