RE
Global College

विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ एप सञ्चालनमा

काठमाडौं । विदेशमा रहेका नेपालीहरूको गुनासो, समस्या तथा उद्धारसम्बन्धी सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले परराष्ट्र मन्त्रालयले ‘मोफा मित्र’ एप सञ्चालनमा ल्याएको छ। परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको उक्त एपको उद्घाटन परराष्ट्रमन्त्री शिशिर खनालले एक कार्यक्रमबीच गरेका हुन्।

उक्त एप स्मार्टफोनमा डाउनलोड गरेर विदेशमा रहेका नेपाली तथा उनीहरूका आफन्तले विभिन्न गुनासो, उजुरी र समस्या दर्ता गर्न सक्नेछन्।

हाल सञ्चालनमा रहेको अनलाइन प्रणालीमार्फत पनि उजुरी तथा समस्या दर्ता गर्न सकिने व्यवस्था भए पनि त्यसमा विभागले उजुरी प्राप्त गरेपछि सम्बन्धित नियोगमा पठाउने प्रक्रिया रहेको छ। तर ‘मोफा मित्र’ एपमार्फत भने सेवाग्राहीले सिधै सम्बन्धित नियोगमा उजुरी गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

उद्घाटन कार्यक्रममा मन्त्री खनालले विदेशमा रहेका नेपालीहरूको सहज पहुँच सुनिश्चित गर्न एप सञ्चालनमा ल्याइएको बताए। उनले विदेशमा रहेका नेपालीहरू समस्यामा परेको अवस्थामा वा उद्धार आवश्यक परेमा एप प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे।

‘एउटा एपले यहाँहरूको गुनासो सम्बोधन हुन्छ भन्ने हाम्रो अपेक्षा छ। प्रविधिको अत्यधिक प्रयोग गरेर समस्यामा परेका नेपालीका समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं,’ मन्त्री खनालले भने। कन्सुलर सेवा विभागका अनुसार प्रविधिमार्फत सेवा हरेक नेपालीको हातहातमा पुर्‍याउने उद्देश्यसहित एप सञ्चालनमा ल्याइएको हो।

NECO

Leave Your Comment

Related News