CLI

बिमा कम्पनीहरुको सेयर बजारमा ५६ अर्ब ८७ करोड लगानी, पुनर्बिमा कम्पनीहरुको इन्भेष्टमेन्ट शतप्रतिशत बढ्यो

काठमाडौं । सेयर बजारमा बिमा कम्पनीहरुको लगानी उल्लेख्य रुपमा बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म जीवन, निर्जीवन, लघु बिमा, पुनर्बिमा कम्पनीहरुले नेप्सेमा सूचीकृत कम्पनीहरुको सेयरमा कुल ५६ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ लगानी गरेका छन् ।

नेपाल बिमा प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यस्तो लगानी ४० अर्ब ४२ करोड ९६ लाख रुपैयाँ रहेको थियो । यस आधारमा बिमा कम्पनीहरुको सेयर लगानी ४०.६७ प्रतिशतले बढेको हो ।

तथ्यांकअनुसार जीवन बिमा कम्पनीहरुले सबैभन्दा बढी ४६ अर्ब ११ करोड ७७ लाख रुपैयाँ लगानी गरेका छन् । गत वर्ष जीवन बिमा कम्पनीहरुको यस्तो लगानी ३३ अर्ब ७ करोड ९२ लाख रुपैयाँ रहेको थियो । यो गत वर्षको तुलनामा ३९.४२ प्रतिशतको धेरै हो ।

निर्जीवन बिमा कम्पनीहरुले चालु आवको तेस्रो त्रैमाससम्म ५ अर्ब ४४ करोड ६५ लाख लगानी गरेका छन् । गत वर्ष यस्तो लगानी ४ अर्ब ५४ करोड ८६ लाख रहेको थियो । यस्ता कम्पनीहरुको बजारमा लगानी १९.७४ प्रतिशतले बढेको छ । पुनर्बीमा कम्पनीहरुको लगानी सबैभन्दा धेरै दरले बढेको देखिएको छ ।

चालु आवको तेस्रो त्रैमाससम्म पुनर्बीमा कम्पनीहरुले ४ अर्ब ९२ करोड १५ लाख लगानी गरेका छन् । अघिल्लो वर्ष यस्तो लगानी २ अर्ब ४५ करोड ५७ लाख रहेको थियो । यो १००.४१ प्रतिशतको वृद्धि हो ।

त्यस्तै, माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुको लगानी २७.४७ प्रतिशतले बढेर ३० करोड ५६ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो लगानी २३ करोड ९७ लाख रुपैयाँ थियो । यता, माइक्रो इन्स्योरेन्स कम्पनीहरुको लगानी भने घटेको छ ।

चालु आवको तेस्रो त्रैमाससम्म यी कम्पनीहरुले ८ करोड २७ लाख लगानी गरेका छन् । गत वर्ष यस्तो लगानी १० करोड ६२ लाख रुपैयाँ रहेको थियो । यस समूहको लगानी २२.०८ प्रतिशतले घटेको देखिएको छ ।

नेपालको सेयर बजारमा बिमा कम्पनीहरु ठूला संस्थागत लगानीकर्ताका रुपमा रहेका छन् । नियामकीय व्यवस्थाअनुसार बिमा कम्पनीहरुले कुल लगानीयोग्य रकमको अधिकतम १० प्रतिशतसम्म सूचीकृत कम्पनीहरुको सेयरमा लगानी गर्न पाउँछन् । सोही व्यवस्थाअनुसार बिमा कम्पनीहरुले सेयर बजारमा लगानी गर्दै आएका छन् । बजार जानकारहरुका अनुसार संस्थागत लगानीकर्ताको उपस्थिति बढ्नु बजारका लागि सकारात्मक मानिन्छ ।

Leave Your Comment

Related News