CLI
Global College

उद्योग तथा निर्माण क्षेत्रमा सुधार, खानी तथा उत्खनन क्षेत्रमा उच्च वृद्धिदर हुँदा पनि जीडीपी योगदान घट्दो

काठमाडौं । नेपालका उद्योग, निर्माण तथा सम्बन्धित आर्थिक क्षेत्रहरूमा चालु आर्थिक वर्षमा समग्र सुधारको संकेत देखिएको छ। खानी तथा उत्खनन, उत्पादनमूलक उद्योग, निर्माण तथा फोहोर व्यवस्थापन क्षेत्रका तथ्याङ्कले आर्थिक गतिविधि विस्तार हुँदै गएको देखाएको छ।

खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धि गत आर्थिक वर्ष १.३९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ३.५२ प्रतिशत पुग्ने अनुमान गरिएको छ। निर्माण क्षेत्रको सुधार र रोयल्टी सङ्कलनमा भएको वृद्धिका कारण यस क्षेत्रको वृद्धि बढ्ने अपेक्षा गरिएको छ। तर, कुल गार्हस्थ्य उत्पादन (GDP) मा यसको योगदान भने ०.४५ प्रतिशतबाट घटेर ०.४३ प्रतिशतमा झर्ने अनुमान छ।

उत्पादनमूलक उद्योग क्षेत्रमा पनि सुधार देखिएको छ। सिमेन्ट, वनस्पति घ्यू, कंक्रीट, फलामे रड, खोटो, सूर्तीजन्य पदार्थ, वायरिङ तार, जुट तथा बियरलगायतका वस्तु उत्पादनमा वृद्धि भएको छ। साथै कच्चा पदार्थको आयात र आन्तरिक मागमा आएको वृद्धिले यस क्षेत्रको वृद्धिदर गत वर्ष २.२७ प्रतिशतबाट बढेर चालु आर्थिक वर्ष २.८३ प्रतिशत पुग्ने अनुमान गरिएको छ। यस क्षेत्रको GDP मा योगदान पनि ५.६६ प्रतिशतबाट बढेर ५.७२ प्रतिशत पुग्ने देखिएको छ।

पछिल्ला १० वर्षमा उत्पादनमूलक उद्योग क्षेत्रको औसत वृद्धिदर ४.०३ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ। औद्योगिक कच्चा पदार्थको आयात तथा आन्तरिक उत्पादनमा भएको वृद्धिका कारण यस क्षेत्रको योगदान क्रमशः विस्तार भइरहेको छ।

त्यसैगरी, पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनसम्बन्धी क्रियाकलापको GDP योगदान भने घट्दो देखिएको छ। गत आर्थिक वर्ष ०.४२ प्रतिशत रहेको योगदान चालु आर्थिक वर्ष ०.४० प्रतिशतमा झर्ने अनुमान गरिएको छ। यस क्षेत्रको वृद्धिदर पनि २.०५ प्रतिशतबाट घटेर १.९९ प्रतिशत रहने देखिएको छ।

निर्माण क्षेत्रमा भने उल्लेखनीय सुधार देखिएको छ। निर्माण सामग्रीको आयात तथा आन्तरिक उत्पादनमा भएको वृद्धिका कारण यस क्षेत्रको वृद्धिदर गत वर्ष ०.९६ प्रतिशत रहेकामा चालु आर्थिक वर्ष २.२१ प्रतिशत पुग्ने अनुमान गरिएको छ। साथै GDP मा यसको योगदान पनि ५.३५ प्रतिशतबाट बढेर ५.५२ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ।

Leave Your Comment

Related News